रवि लामिछानेमाथि चोटैचोट: समितिमा इन्कारी बयान, विश्वास पात्रको गम्भीर आरोप-Sutra News

रवि लामिछानेमाथि चोटैचोट: समितिमा इन्कारी बयान, विश्वास पात्रको गम्भीर आरोप

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछान राजनीतिमा होमिएको दुई वर्ष पुगेको छ । विं.सं. २०७९ को आम निर्वाचन हुनअघि पार्टी खोलेर चुनावमा होमिएका उनी चौथो ठूलो दलको नेता बने ।



चौथो ठूलो दलको हैसियतमा उनी पहिलो पटक उपप्रधान तथा गृहमन्त्री बने । तर, उनको पद लामो समय जान सकेन । सरकारमा गएको एक महिना नपुग्दै उनले मन्त्री पदसहित सांसद पदसमेत गुमाउन पुगे ।

नागरिकताको प्रकरणले पद गुमाएका लामिछानेले उपनिर्वाचनमा चितवन २ बाट भारी मतले विजयी भए । पार्टी खोलेको ६ महिनामा उनको नेतृत्वमा उत्साहपूर्ण चुनावी नतिजा आएजस्तै अर्को ६ महिनामा दोस्रो पटक निर्वाचनमा होमिन पर्यो ।

सांसद पद गुमाएका लामिछानेले उपनिर्वाचनमा विजयी हुँदै दोस्रो पटक उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा सत्तामा पुगे । यो पटक पनि उनी लामो समय सत्तामा बस्न पाएनन् । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरण गरेसँगै प्रतिपक्षीको भूमिकामा पुगे ।

राजनीतिमा आउनुपूर्व लामिछाने पत्रकारिता पेशमा आबद्ध थिए । राजनीतिमा आएपछि उनी जति विवादित बने, पत्रकारितामा हुँदा राम्रो काम गरेको भन्दै ठूलो प्रशंसा पाए । त्यही पत्रकारिताको आधार भूमिले उनी राजनीतिमा राम्रोसँग छाए ।

पछिल्लो समय लामिछानेमाथि गम्भीर आरोपहरू लागेको छ । सहकारीको बचत हिनामिना गरी आफू आबद्ध भएको गोर्खा मिडिया नेटवर्कमा हालेको उनीमाथि आरोप लागेको छ । उनले आफ्नो नाममा ऋण निकालेर कम्पनीमा हालेको भन्दै छानबिन समितिले बयान लिएको छ ।

शुक्रबार साँझ ४ बजे सुरु भएको बयान राति १ बजेसम्म चलेको थियो । करिब नौ घण्टा चलेको बयानमा उनीमाथि ५० भन्दा बढी प्रश्न गरिएको समितिका सभापतिसमेत रहेका सांसद सूर्य थापाले जानकारी दिए । समितिको कार्यालयमा राति १ बजेसम्म चलेको उनको भनाइ थियो ।

समितिले तथ्य र प्रमाणसहित सोधिएका प्रश्नको जवाफ लामिछानेले स्वीकार गरे । तर,
अधिकांश प्रश्नमा उनी थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भन्ने जवाफ दिएर टारेका थिए । उनले आफू प्रबन्ध निर्देशक हुँदा कम्पनीको कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको बताए । कम्पनीको आर्थिक विषयमा आफू जानकार नभएको उनको दाबी थियो ।

सहकारी छानबिन समितिमा इन्कारी बयान दिएका लामिछानेमाथि आफ्नै विश्वास पात्रसमेत रहेका पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाल खनिँदै आएका छन् । उनले पटक-पटक रास्वपा सभापति लामिछानेले सहकारी रकम हिनामिना गरेको, पैसा असुलेको, गृहमन्त्री हुँदा भ्रष्टाचार गरेको गम्भीर आरोप लगाउँदै आएका छन् ।

शुक्रबार बिहान निलम्बित महामन्त्री ढकालको गम्भीर आरोप खेपेका लामिछाने साँझ समितिमा बयानका लागि उपस्थित भए । मध्य रातसम्म बयान दिएका उनी शनिबार बिहान आफ्नो निर्वाचन क्षेत्र चितवन पुगे । यस क्रममा उनले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र समितिलाई बुझाएको बताए ।

यस क्रममा उनले गोर्खा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको दाबी गर्न भ्याए । ‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,’ उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।’

यस क्रममा उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु कमजोरी भएको स्वीकारे । गोर्खा मिडियाका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो ।

तर, आफूमाथि गम्भीर आरोप लगाउने निलम्बित महामन्त्री ढकालले लगाएको आरोपबारे मौन बने । यसबारे उनको एउटै भनाइ थियो- समयले बताउँदै जाने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट