काठमाडाैं । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको मिति नजिँकिँदै गर्दा रोचक दृश्यहरू देखिन थालेका छन् । दुवै प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र कमला ह्यारिसका समर्थकहरू आफ्नो पक्षमा माहाेल बनाउन अनेकन नाममा अभियान चलाउन थालेका छन् ।
यसैबीच, डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न देशका केही हिन्दूहरू एकजुट भएर ‘हिन्दु फर कमला ह्यारिस’ नामक समूह बनाएका छन् । विशेषगरी भारत र एसिएन मुलका अमेरिकीहरू उनकाे अभियानमा देखिएका छन् ।
‘हिन्दु फर कमला ह्यारिस’ समूहका संस्थापक सदस्यहरुले कमलादेवी ह्यारिसलाई अमेरिकाको ४७ औं राष्ट्रपतिमा जिताउनु पर्ने बताएका छन् । याे समूहले हिन्दूहरूलाई चुनावमा मतदान गर्न, घर नजिकै कमला ह्यारिसको समर्थनमा चिन्ह लगाउन र उनको चुनावी अभियानमा सहयोग गर्न चन्दा दिन पनि सार्वजनिकरूपमा अपिल गरेकाे छ ।
राष्ट्रपति चुनावमा ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । भारतीय-अफ्रिकी मूलकी ह्यारिसले बिहीबार राति शिकागोमा भएको डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो उम्मेदवारी घाेषणा गरेकी थिइन् । उनी राष्ट्रपतिको उम्मेदवार बन्ने डेमोक्रेटिक पार्टीकी दोस्रो महिला नेतृ पनि हुन् ।
५९ वर्षीय ह्यारिस पहिलो भारतीय-अमेरिकी र अमेरिकाको प्रमुख पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो अश्वेत महिला हुन्।
ह्यारिसकी आमा श्यामला गोपालन भारतीय थिइन् भने उनका बुबा डोनाल्ड जास्पर ह्यारिस जमैकाका नागरिक हुन्। ह्यारिस निर्वाचित भएमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनेछिन् ।