अश्लील-अपाच्य तीज गीतका बीच विष्णु माझीले ल्याएको नयाँ गीत कस्तो ?-Sutra News

अश्लील-अपाच्य तीज गीतका बीच विष्णु माझीले ल्याएको नयाँ गीत कस्तो ?

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । पछिल्लो समयतीज आउनु भन्दा तीन-चार महिना अघिबाटै बजारमा तीज गीत छ्याप-छ्यापती आइसकेका छन् । जे-जति तीज गीतहरू सार्वजनिक भएका छन्, अधिकांश यी गीत विवादमा परेका छन् । कतिपय गीत र भिडियोले त उच्छृङ्खलतालाई प्रोत्साहन गरेका छन् । तर, लाखौँ दर्शक जबसम्म चर्चित गायिका विष्णु माझीको तीज गीत आउँदैन तब तीज नै आउँदैन भन्ने गरेका छन् ।



करिब १२ वर्ष भन्दा लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएकी सबैभन्दा महँगी गायिकामा पर्ने विष्णु माझीले तीजमा एउटा गीत दर्शकलाई उपहार स्वरूप दिने गरेकी छिन् । दर्शकहरुले गायिका विष्णु माझीको यस वर्ष नयाँ तीज गीत आउँछ कि आउँदैन होला भनेर धेरै प्रश्न गरिरहेका थिए ।

धेरै प्रश्नका बाबजुद शनिबार गायिका माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक भएको हो । यो गीतले एक विवाहित नारीले तीजमा माइती जान नपाएको पीडा पोखिएको छ । सार्वजनिक गीतको अडियो र भिडियो दुबै शक्तिशाली छ । झन्डै १७ मिनेट लामो गीतका शब्द निकै सुझबुझपूर्ण तवरले बुनिएका छन् ।

‘लाइछु, खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन’ गीतको एक अंश सुन्दा चेलीले खुसीसाथ आफ्नो घर गरेकी जस्तो लाग्छ । तर भिडियोमा भने उही चेलीको पीडा र वेदना देखाइएको छ । यसको अर्थ आफूले रोएरै जीवन बाँचे पनि आमालाई पिर नपरोस् भन्ने सन्देश दिइएको छ ।

बिशेषगरी, दुई दशक अघिसम्मका तीज गीतलाई हेर्ने हो भने कलिलै उमेरमा विवाह हुने अनि माइती टाढा हुने, माइत जान पनि वर्षौं कुर्नुपर्ने, घरभित्र लोग्ने, सासुरससुरा, जेठाजु र जेठानीलगायतबाट हेपिनु तथा चेपिनुपर्ने जस्ता वेदना वा भोगाइ गीतमार्फत पोखिने गरेको पाइन्थ्यो ।  तर, पछिल्लो समय गिज गीतका नाममा संस्कृति नै धमिल्याउने काम भई रहेको छ ।

पहिला तीज गीत भन्न साथ निकै पारिवारिक, शालीन र भद्र तरिकाले गाइन्थे । तर, अचेल तीज गीतले नै नेपाली पहिचान र संस्कृतिमाथि धावा बोलिरहेका छन् । तर, दुखको कुरा के छ भने अहिलेका चर्चित गायक र गायिकाले नै तीज गीतको नाममा अश्लील, अपाच्य र सुन्नै नसकिने गीत गाइरहेका छन् । यसमा सबै गीत र गायक-गायिकालाई त यसमा जोडन मिल्दैन कति गायक-गायिकाले त अझै पनि हाम्रो संस्कृति झल्काउने र मौलिक मान्यतालाई जोगाउने गीत नै ल्याउने गरेका छन् ।

समाजले अग्रज र आइडल मानेका केही व्यक्तिले भने युट्युबबाट केही सीमित आयआर्जनको लोभमा तीज गीतलाई नारीको मनोवेदना र चाहाना बोल्ने भन्दा पनि चल्तीको गीत बनाउ तर्फ लागका छन् । तर, गायिका माझीले भने एउटै भए पनि नितान्त महिलाको वेदना बोल्ने गीतलाई नै बजारमा ल्याउने गर्छिन् । त्यसैले दर्शकहरू उनको गीतलाई पर्खिरहेका हुन्छन् ।

शनिबार रिलिज भएको गीत यो समाचार तयार पार्दासम्म १६ लाख ५४ हजार सात सय भन्दा बढीले हेरिसकेका छन् । ‘पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।

गायिका माझीले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। भ्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबैभन्दा चर्चित तीज गीत हो। यो गीतले जति चर्चा पायो, त्यति नै उनको बन्द जीवनले समेत चर्चा पायो।

किनकि, १२ वर्ष भन्दा लामो समय देखि नै गायिका माझी सार्वजनिक रूपमा देखिएकी छैनन् । आफ्नै आमाबुबाको वर्ष दिनको काममा समेत माइत नपुगेकी उनका बारेमा माइतीले समेत कुनै शब्द चुहाएनन्। गायिका माझी आफूसँग भएको स्वर मात्र सुनाउँछिन्, त्यसपछि फेरि गुमनाम हुन्छिन्। यस्तोमा उनी गुमनाम हुनुको कारण धेरै पटक-पटक जान्न चाहिँ रहेका हुन्छन्। २०७८ को तीजमा जेलैमा हो जेलैमा गीत आउँदा उनलाई कतै आफ्नै श्रीमानले त बन्धक बनाएर राखेका छैनन् भनेर धेरैले आशङ्का गरे । बेला मौकामा नयाँ गीत सार्वजनिक गर्ने तर सार्वजनिक रूपमा बाहिर नदेखिने माझी ‘बन्दी बनाइएकी हुन् भनेर प्रश्न पनि आयो तर, उनका श्रीमानले भने विष्णु माझी आफै नचाहेर बाहिर नआएको बताउँछन् । बिस्तारै यस विषयमा धेरैकको चासो हराउँदै गर्‍यो ।

पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले फेरी यो वर्ष पनि महिला र परिवारको वेदनामाथि आधारित रहेर आइन आमा यो तिजमा बोलको गीत ल्याएकी हुन् । उनको गीतलाई सबैले यो वर्षकै उत्कृष्ट गीत भन्दै तारिफ गरिरहेका छन् । कतिपयले बल्ल तीज गीत आयो भनेर खुसी साटिरहेका छन् । कतिले विष्णु माझी नामै काफी छ भन्दै तपाईँले गीत गाउनु हुन्छ र त तिज आउँछ भनेका छन् । कतिपयले भने खिल्ली उडाउँदै उही पुरानो शब्द र लयलाई घुमाई फिराई ल्याएको भन्दै मजाक गर्न समेत भ्याएका छन् भने कतिले बारम्बार छोरीको वेदना बोक्ने गीत ल्याएर कतै आफ्नै वेदना त पोखेकी हैनन् भन्दै प्रश्न समेत गर्न भ्याएका छन् ।

‘पुतलीको भट्टी’ भाग १७ का रूपमा गायिका माझीले गाएका आधा दर्जनभन्दा बढी गीत ‘करोड क्लब’ मा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका माझीको स्वरका गीतले करोडभन्दा बढी भ्युज बटुलेका छन् ।

‘आइनँ आमा यो तीजमा’ बोलको गीत सुन्दरमणी अधिकारीको निर्देशन र निर्माणमा तयार भएको हो । यो गीतमा मौसम हिमालीको कोरियोग्राफी, प्रवीण भट्टको सम्पादन छ । भिडियोमा मोडल ललिता पौडेलले गज्जबको नृत्य र अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट