काठमाडौं । यही भदौ १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर फिल्मको प्रचार गरेको छ ।
फिल्मका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे ।
मोफसल टुरका क्रममा उत्साहित देखिएको फिल्मको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ । फिल्मका निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ फिल्म जस्तो फिल्म बनेको भन्दै दर्शकले उच्च क्यानभास उत्कृष्ट फिल्म हेर्न पाउने जानकारी दिए । यो फिल्मको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनको भनाई थियो ।
फिल्मका कलाकार किरण केसीले दर्शकले यो फिल्मलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे । उनले भने–‘मैले काम गरेका सय बढी फिल्ममा यो १–२ नम्बरमा पर्छ । फिल्म हरेक कोणबाट उत्कृष्ट छ ।’
नायिका आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शित्तल बनाउने दाबी गरिन् । फिल्ममा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको फिल्म हेर्न पाउने बताइन् ।
यस्तै, नव-नायक विवेक कर्माचार्यले यो फिल्मबाट आफू फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे ।
निर्मात्री जानुका थापाले फिल्मको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको फिल्मको टिमलाई दर्शकले उत्साहजनक रुपमा स्वागत गरेका थिए । अधिकांशले फिल्मको प्रचार सामाग्री मन परेको भन्दै हलमा गएर फिल्म हेर्ने बताए ।