किन उच्च अंकले घट्यो नेप्से ?-Sutra News

किन उच्च अंकले घट्यो नेप्से ?

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आइतबार ७९.८८ अंकले घट्दै नेप्से २८९४.५७ को बिन्दुमा झरेको छ । समग्रमा नेप्से २.६८ प्रतिशतले घट्यो ।



उच्च अंकले गिरावट आउँदा यस दिन सबैजसो इन्डेक्स राताम्मे बने । लघुवित्त बाहेक सबै समूहमा उच्च अंकको गिरावट आयो ।

लघुवित्तको इन्डेक्स १.०८ प्रतिशतले बढ्दा वाणिज्य बैंक ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, जलविद्युत ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन तथा प्रशोधन १.९८, सामूहिक लगानी १.५९, निर्जिवन बीमा २.३२, अन्य ३.५५ र व्यापार १.७६ प्रतिशतले घट्यो ।

यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये १८४ कम्पनीको मूल्य घट्यो भने ६० कम्पनीको मूल्यमा बृद्धि भयो ।

उच्च अंकले सूचक घट्दा पनि यस दिन लघुवित्त समूहका विन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो भने थ्रि स्टार जलविद्युतको मूल्य ९.९४ प्रतिशतले बढ्यो ।

यसदिन मन्दाकिनी हाइड्रो र कुमारी बैंकको डिभेन्चरको मूल्य ९ प्रतिशतभन्दा बढीले घट्यो ।

उच्च अंकले नेप्सेमा गिरावट आउँदा यसअघिका दुई कारोबार दिनमा भन्दा कारोबार रकम केही बृद्धि भयो । ४ करोड २६ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा यस दिन कारोबार रकम १९ अर्ब ७४ करोड ५ लाख रुपैयाँको भयो ।

सबैभन्दा बढी अपि जलविद्युत् कम्पनी, हिमालयन रि इन्स्योरेन्स, साइन रेसुङ्गा विकास बैंकलगायतको कारोबार उच्च रह्यो । अपिको मात्रै ८४ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

नयाँ सरकार र मौद्रिक नीतिसँगै क्रमशः बढ्न थालेको नेप्से दुई साताअघि साउन २७ मा २८ सयको बिन्दुमा आइपुगेको थियो । दुई साताको बिचमा नेप्से ३ हजारको बिन्दुमाथि उक्लिएपनि ३ हजारको बिन्दु छोएसँगै भने नेप्से करिब ओरालोमा छ । एकातिर सूचक घटिरहेको छ भने अर्कोतिर कारोबार रकम पनि घटिरहेको छ ।

पछिल्लो करिब डेढ महिनाको अवधिका सूचक झण्डै १ हजार अंकले बढ्यो । सूचक बढेसँगै कतिपय कम्पनीको मूल्य दोब्बरभन्दा बढी भएको छ । यस्तोमा केही लगानीकर्ता नाफा बुक गर्न लालायित देखिनु स्वभाविक हाे । यद्यपि, उच्च करेक्सनले बजारलाई थप उचाईमा पुर्‍याउने विश्वास विश्लेषकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट