काठमाडौं । बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास रचेको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित निकाल्दै इतिहास बनाएको हो ।
जारी टेस्ट सिरिजको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पूरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।
यसअघि पहिला ब्याटिङ्ग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिङ्ग घोषणा गर्दै बंगलादेशलाई ब्याटिङगका लागि बोलाएको थियो ।
बंगलादेशले आफ्नो पहिलो इनिङगमा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिङगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो ।
यो जितपछि बंगलादेशले दुई खेलको टेस्ट सिरिजमा १–० को अग्रता हासिल गरेको छ । साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ ।
बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक–एक खेलमा पराजित गरेको छ । न्युजिल्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ । सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ ।