काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् ।
मोरङको विराटनगर घर भएका चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित डेरामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
मृतक चतुर्वेदी गोकर्णेश्वर ८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
उनको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।
चतुर्वेदी गोकर्णेश्वर ८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्ति भैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ । चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित संघर्ष समितिका सदस्य राजेशकुमार विष्टले बताए ।
“उनले खुट्टा भाँचिएकाले सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए, उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए”, उनले भने । चतुर्वेदीले उक्त सहकारीमा २५ लाख बचत गरेका थिए ।
बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित संघर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएका सदस्य विष्टले बताए ।