काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या नौबाट नबढाउने शीर्ष नेताहरुबीच सहमति भएको बताए ।
आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए । भाद्र १२ गतेसम्म कोशी प्रदेशमा नेपाली कांग्रेसको सहभागितामा सरकार विस्तार भइसक्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री कार्र्कीले कांग्रेसले मन्त्रीको नाम सिफारीस गर्ने बित्तिकै सरकारले पूर्णता पाउने जानकारी दिए । कोशी प्रदेशमा रहेका नौ वटा मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित पाँच वटा मन्त्रालय एमालेले लिने र बाँकी चार वटा मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको उनले जानकारी दिए ।