काठमाडौं । फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।
असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक गीतमा एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना र संगीतकार योगी र शान्तिश्री परियारको स्वर रहेको छ ।
सुरेन्द्र राईको कोरियोग्राफी यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ ।
फिल्मको निर्मातामा वीबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्- भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।