फिल्म ‘पिताम्बर’ मा स्टार अभिनेताहरूको लाइनअप थप बलियो हुँदै गएको छ। यसअघि नै थुप्रै चर्चित कलाकारहरूले यो फिल्ममा संलग्न भएका थिए, र अब दयाहाङ राईको थपिएपछि मुख्य कलाकारहरूको संख्या अझै बढेको छ।
यस फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव, गौरव विष्ट, विशाल पहारी, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्टलगायतका कलाकारहरू पहिल्यै फाइनल भइसकेका छन्।
यस प्रभावशाली कलाकारहरूको उपस्थितिले फिल्मप्रति दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ। यति धेरै स्टार अभिनेताहरू एकै फिल्ममा समेट्दा कथा र पात्रहरूको व्यवस्थापन कसरी गरिएको छ भन्ने जिज्ञासा स्वाभाविक हो। दर्शकहरूको बीचमा मुख्य पात्र ‘पिताम्बर’ को भूमिकामा को छन् भन्ने चर्चा पनि चलिरहेको छ। अब दयाहाङको प्रवेशपछि उनी कुन भूमिकामा देखिन्छन् भन्ने उत्सुकता झन् बढेको छ।
निर्देशक कृषा चौलागाईंले फिल्मको कथा हरेक कलाकारको स्टारडमलाई न्याय गर्नेगरी तयार गरिएको बताएकी छिन्। उनका अनुसार राम्रो भूमिका र अर्थपूर्ण चरित्र नहुँदासम्म कुनै कलाकारलेफिल्ममा काम नगर्नेछन्। “हाम्रो फिल्ममामा संलग्न भएका प्रत्येक कलाकारको चरित्र महत्वपूर्ण र विशेष छ,” निर्देशक कृषाले भनिन्, “रोल सुहाउँदो नहुँदा अहिलेका चर्चित स्टारहरूलाई अफर गर्न अफ्ठ्यारो हुन्छ।”
फिल्ममा प्रत्येक कलाकारको इन्ट्री, चरित्र र त्यसको प्रभाव दमदार हुने निर्देशक चौलागाईंको दाबी छ। उनले भनेकी छिन्, “दुई वा दुईभन्दा बढी स्टार कलाकारलाई एउटै सिनेमामा लिएर काम गर्नु र उनीहरूलाई चित्त बुझाएर कथा निर्माण गर्नु आफैंमा एक सफलता हो। यो चुनौती हामीले सामना गरेका छौँ, त्यसैले ‘पिताम्बर’ विशेष र अन्य फिल्म भन्दा फरक हुनेछ।”
‘पिताम्बर’ को पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु गरिएको थियो। पहिलो सेड्युलमा सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन सम्पन्न भएको थियो। प्रदीप खड्का र सौगात मल्ल दोस्रो सेड्युलमा जोडिएका छन्, जहाँ प्रदीप एक्सन भूमिकामा देखिनेछन्।
केपी फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसले सहकार्य गरेको ‘पिताम्बर’ को छायांकन पुरुषोत्तम प्रधानले गरिरहेका छन्। विशाल चौलागाईं निर्माता रहेको यो फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ। प्रदीप भारद्वाजले लेखेको कथा निर्देशक चौलागाईंले लार्ज स्केलमा बनाउँदै छिन्। यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्।