काठमाडौं । पर्सास्थित सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ ।
कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो ।
भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।
बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको बताए ।
“कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व संकलन गर्न सकिएको थियो।” उनले भने, “गत आवमा लक्ष्यानुसारको राजस्व संकलन हुन भने सकेन ।”
भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व संकलन गरेको थियो ।
विभागले कार्यालयलाई आव २०७९/८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर, कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व संकलन गरेको थियो ।