काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको डेढ महिना पुग्दै छ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले समर्थन गरेसँगै अोलीले आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हटाउन सफल भएका थिए ।
गत असार १७ गते राति संसदका दुई ठूला दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सात बुँदे सहमति भएको थियो । सोही सहमतिका आधारमा असार ३० गते ओली प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई ठूला दलबाहेक अन्य साना दलहरूसमेत सहभागी छन् । अंक गणितका आधारमा ओलीलाई अहिलेको अवस्था सहज छ । तर, यो अवस्था कहिलेसम्म जान्छ ? भन्ने प्रश्न उब्जिएको छ ।
अोली नेतृत्वको सरकार बनेसँगै छिमेकी मुलुकहरूले कसरी लिएको छ ? भन्ने कुरा खुलस्त हुन सकेको छैन । यसैबीच, भदौ २ गतेदेखि पाँच दिने भारत भ्रमणमा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिएको सत्कारले केही संकेत गरेको स्पष्ट हुन्छ ।
पछिल्लो करिब एक दशकदेखि नेपालको तर्फबाट भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्रीहरूले भारतीय प्रधानमन्त्रीसँग ‘वान टु वान’ भेट गर्ने अवसर पाएका थिएनन् । तर, यो अवसर आरजुले पाइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युद्ध गरिरहेका दुई देश रुस र युक्रेनको भ्रमण तालिकाका बीच राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटपछि दुई नेताहरूले आफूहरूले दुई देशको सम्बन्ध थप बलियो बनाउने गरी वार्ता गरेको बताएका थिए ।
पार्टीलाई आरजुको सांकेतिक ‘ब्रिफिङ’
भारत भ्रमणपछि आरजुले पार्टी बैठकमा यसबारे ‘ब्रिफिङ’ गरेकी थिइन् । गत साउन २ गतेदेखि बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा आरजुले पाँच दिने भ्रमणबारे ‘ब्रिफिङ’ गरेकी हुन्।
बैठकमा संक्षिप्त धारणा राख्दै आरजुले अहिलेको सत्ता गठबन्धनलाई भारतले सकारात्मक रुपमा लिएको जानकारी गराएकी थिइन् । तर, अर्का एक नेताका अनुसार आरजुले नेपालमा बनेको नयाँ सत्ता गठबन्धनप्रति भारत सकारात्मक रहेको बताउँदै गर्दा खुलस्त हुन सकेकी थिइनन् । उसो त एमाले नेतृत्वको सरकार बनेपछि भारतले खुलेर स्वागत गर्न सकेको छैन ।
कांग्रेससँग दुई वर्ष प्रधानमन्त्री बन्ने गरी गरेको सहमतिमा प्रधानमन्त्री ओली आफै ढुक्क हुन सकेका छैनन् । उनले संसदमा सम्बोधन गर्ने क्रममा पटक–पटक दुई दलको सरकारले राम्रो काम गरी पूरा कार्यकाल बिताउने बताउँदै आफ्नै पदमाथि शंका व्यक्त गर्दै आएका छन् ।
कांग्रेसलाई विश्वास दिलाउन दबाबमा परेका प्रधानमन्त्री अोलीको भनाइप्रति सभापति देउवा मौन बस्दै आएका छन् । उनी आफू मौन बसेर देशमा ठूला राजनीतिक उथलपुथल बनाउन सक्ने नेता हुन् । देउवाको मौनतामा ओलीले दबाब महसुस गरिरहेको स्पष्ट देखिन्छ ।
उसो त तत्कालीन प्रधानमन्त्री प्रचण्ड गत २७ जेठमा मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका थिए । यस क्रममा मोदी र प्रचण्डको ‘वान टु वान’ भेटवार्ता गरेका थिए ।
त्यसबेला एमालेसँग गठबन्धन गरी प्रधानमन्त्री बनिरहेका प्रचण्डलाई मोदीले कांग्रेससँग मिलेर जान संकेत गरेको चर्चा चलेको थियो । सोही भ्रमणपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेससँग प्रस्ताव गरेका थिए ।
यसैबीच प्रचण्ड कांग्रेससँग मिल्ने संकेत पाएका एमालेका दोस्रो तहका नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले सीधै कांग्रेससँग सरकार बनाउन गरी अगाडि बढेका थिए । जुन छलफलले सार्थकता पाउँदै ओली प्रधानमन्त्री बन्न सफल भए ।
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणसँगै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रचण्डले आफूहरूलाई खोज्दै सरकार आउने दाबी गर्न भ्याए । पार्टीको बैठकहरूमा जनतामाझ जाने निर्णयहरू गराउँदै आएका उनले पटक-पटक आफूहरू सरकारमा नजाने तर सरकार खोज्दै आउने दाबी गर्दै आएका छन् ।