काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक खण्ड आठ घण्टापछि खुलेको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटना ग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द गरिएको खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आज बिहानदेखि क्रेनको सहायतामा दुर्घटना ग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो । क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
“बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकाले सडक खुलाउन ढिला भएको हो,” उनले भने, “क्रेनको बुम जडान गरिएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।”
शुक्रबार दुर्घटनामा परेको बस पोखराबाट काठमाडौं जाँदै गरेको अवस्थामा नदीमा खसेको थियो । बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नु पर्ने भएकाले उक्त मार्ग बन्द गरिएको हो ।
ऐना पहरामा भारतीय पर्यटक चढेको बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए । घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।