काठमाडौंमा तेस्रो मिलाप तीज उत्सव भव्यताका साथ सम्पन्न भएको छ। ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा आयोजित यस विशेष समारोहमा कला, साहित्य र संगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको उपस्थिति रहेको थियो।
समारोहमा वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमको अवसरमा विभिन्न प्रतिभाशाली महिलाहरूलाई सम्मानित गरिएको थियो। यस वर्षको यमकुमारी कला सम्मान २०८१ महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, गायिका सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवरलाई प्रदान गरियो।
गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ का सर्जकहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो। गायिका सारिका घिमिरे, संगीतकार योगेश काजी शाह, कलाकार रिमोना लोहार, मिक्सिङ/माष्टरिङ मनोज परियार, निर्देशक/कलाकार प्रदीप रसाइली, कलाकार मुना भुर्तेललगायतलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको संचालन सञ्चारकर्मी रिना श्रेष्ठले गरेकी थिइन् भने गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन्। प्रमुख अतिथि देविका वन्दनाले तीजलाई सिर्जनात्मक रूपमा मनाउनुपर्ने जोड दिँदै मिलापले गरेका कार्यहरूको प्रशंसा गरिन्। यस्तै, सञ्चारकर्मी कमला जोशी र वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले तीजलाई भडकिलोभन्दा सभ्य रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरिन्।
विभिन्न वक्ताहरूले मिलाप मासिकको योगदानको प्रशंसा गर्दै यसको निरन्तरता होस् भन्ने शुभकामना व्यक्त गरे। सभापति गीता अधिकारीले कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै मिलाप मासिकले विगत १४ वर्षदेखि नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै आएको जानकारी दिइन्।
समारोहमा नायिका सानिया खान, गायिका मञ्जु लावती, कलाकार शरिताराज उपाध्याय, निर्माता रोशनी केसी, गायिका रानु निरौला, कलाकार गीता थापा र नम्रता खरेललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। तीजको दर खाने परम्परा पनि समारोहमा मनाइयो, जहाँ उपस्थित दिदीबहिनीहरूले तीजका गीतमा नृत्य गरेका थिए।