काठमाडौं । नेपाली संगीतका प्रख्यात गायक रामकृष्ण ढकाल अष्ट्रेलियामा आफ्नो भव्य साङ्गीतिक यात्रा सुरु गर्ने भएका छन्। ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक यो कार्यक्रमले उनलाई अष्ट्रेलियाका विभिन्न प्रमुख सहरहरूमा उपस्थित गराउनेछ, जसको सुरुआत सिड्नीबाट हुने भएको छ।
गायक ढकालले यस टुरको लागि आफ्नो उत्साह सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै सिड्नीमा बस्ने नेपाली समुदायलाई भेट्न आतुर रहेको बताएका छन्। उनले भनेका छन्, “केही समयपछि सिड्नीमा मेरो साङ्गीतिक प्रस्तुति लिएर आउँदैछु। मेरो पुराना र नयाँ गीतहरूको संगालो लिएर तपाईंहरूसँग रमाइलो जमघट गर्नेछौं।”
सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा आयोजना हुने यस कार्यक्रममा गायक ढकालले आफ्नो सुमधुर आवाजले दर्शकहरूलाई मन्त्रमुग्ध पार्नेछन्। यो कार्यक्रम ‘पाल्पा सर्भिसेस’ को प्रस्तुतिमा आयोजना हुनेछ, जहाँ ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाइटल स्पोन्सरका रूपमा रहेको छ। साथै, गोल्ड स्पोन्सरका रूपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रूपमा गोर्खाज सुपरमार्केट जोडिएका छन्।
यो साङ्गीतिक रातको लागि टिकटको मूल्य ९९ अष्ट्रेलियन डलर तोकिएको छ, जसमा रात्रीकालीन खानाको पनि व्यवस्था रहेको छ। गायक ढकालका प्रशंसकहरूले यस अवसरमा उनलाई प्रत्यक्ष सुन्न र देख्न पाउनेछन्, जुन उनीहरूका लागि अविस्मरणीय हुनेछ।