काठमाडौं । बनेपामा कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्माचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडल कुसुम शर्मा र विजु पार्कीले सहभागीता जनाएका छन्। ‘कन्या पूजा सनातन गुठी’ले हरेक वर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ। यस पटकको ‘कन्या पूजा’ कार्यक्रममा दश हजार भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो।
फिल्म ‘वर एण्ड बधु’का मुख्य कलाकारहरूले कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ‘कन्या पूजा’ गरेका थिए। कलाकारहरूले हजार भन्दा बढी बालिकाहरूलाई कापी र खानेकुरा वितरण गरेका थिए।
नायिका आँचल शर्माले पहिलो पटक ‘कन्या पूजा’मा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी र आनन्द लागेको बताउँदै, बालिकाहरूलाई कापी र बिस्कुट वितरण गर्दा निकै हर्षित भएको अनुभव सुनाइन्। यस्तै, नायक विवेक कर्माचार्यले विगत ४ वर्षदेखि निरन्तर रूपमा ‘कन्या पूजा’मा सहभागी भएर विभिन्न दान गतिविधिहरूमा संलग्न हुँदै आएको उल्लेख गरे।
यसै अवसरमा, भदौ १४ गते अर्थात् शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘वर एण्ड बधु’का निर्माण टिमले १ लाख ११ हजार नगद ‘कन्या पूजा’मा सहयोग गरेका थिए। मिलन चाम्सको निर्देशनमा बनेको यस फिल्मलाई जानुका थापाले लगानी गरेका छन् भने अमित रिजाल कार्यकारी निर्माताको रूपमा रहेका छन्। फिल्म प्रेम, रोमान्स, धोका र कमेडीको कथा लिएर आएको छ, र ट्रेलर तथा गीतसंगीतलाई दर्शकहरूले रुचाएको कारणले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।