काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्ति प्रेमी भएकाले कसैले बिथोल्ने र भड्काउन नहुने बताएका छन् ।
सैनिक मञ्चमा आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको गुनासो गरे ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको गौरा नेपालको मौलिक पर्व भएको उल्लेख गरे ।
सोही कार्यक्रममा सम्बोधन गर्न पुगेका देउवाले आफूविरुद्ध नाराबाजी भएपछि थर्काएका थिए । उनले भने, ‘लाज छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको हो बकवासहरू ।’
गौरा पर्व सुदूरपश्चिममा प्रचलित पर्व हो । हरेक वर्ष काठमाडौंको टुँडिखेलमा पनि यो पर्वको मेला लाग्दै आएको छ ।