आरजुको भारत भ्रमणसँगै प्रचण्डमा जागेको आशा-Sutra News

आरजुको भारत भ्रमणसँगै प्रचण्डमा जागेको आशा

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

काठमाडौं । गठबन्धनको हेराफेरि गर्दै सत्तामा टिकिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार ८ मा एक सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा भनेका थिए, “हामीलाई हटाउन सजिलो छैन, हामीसँग जादुवाल नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ ।”



तर, परिस्थिति निकै छिटो बदलियो । उनको त्यो बोली उनका निम्ति नै अभिसाप बन्यो । प्रचण्डले त्यस्तो भनेको एक सातामै घटनाक्रम यसरी बदलियो कि उनी नै सरकारबाट गलहत्त्याइने अवस्थामा पुगे ।

असार १५ को बालकोट सहमतिपछि असार १७ मा नेपाली कांग्रेस र नेकपा (एमाले)ले ७ बुँदे सहमति गरे । उक्त सहमति भएसँगै प्रचण्ड अनौठो शैलीमा सत्ताबाट पाखा फालिए ।

असार १७ को ७ बुँदे सहमतिको जगमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा छन् । कांग्रेस र एमालेबिच आगामी पूरा कार्यकाल आलोपालो गरेर सत्ता चलाउने लिखित सहमति भएको छ ।

यस्तोमा प्रचण्ड सत्ताको छेउछाउबाट धेरै पर हुत्तिइसकेका छन् ।

तथापि, पछिल्लो समय प्रचण्डले फेरि सत्तामा फर्किने अवस्था बन्न थालेको बताएका छन् । पार्टीको बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकलाई सम्बोधन क्रममा बुधवार प्रचण्डले त्यस्तो सम्भावनाबारे बोलेका थिए ।

“आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो, यसले एमाले बिच्किएको छ”, उनले भनेका थिए ।

कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री आरजु देउवा राणाको भारत भ्रमणबाट उनी निकै हौसिएका देखिन्छन् ।

प्रचण्डले यस विषयलाई पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय परामर्श समितिको बैठकमा पनि राखेका छन् । उनले माओवादीलाई अरूले खोज्दै आउने स्थिति बन्न लागेको बताएका छन् ।

“हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ”, सोमबार प्रदेश स्तरीय बैठकको समापन समारोहलाई सम्बोधनका क्रममा उनले भनेका छन् ।

हुन पनि स्वयम् राणाले पनि पार्टी बैठकमा गठबन्धनबाट भारत सरकार सन्तुष्ट नबनेको बिफ्रिङ्ग गरेकी छिन् । “भारत खुसी नै रहेको भनेर सुनाउँदा पनि उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी)को अनुहारमा खुसी झल्किएन, उहाँका भाषा पनि रुखो आयो”, पार्टी बैठकमा राणाले गरेको बिफ्रिङ्गबारे एक केन्द्रीय सदस्यले भनेका छन्, “भारत सरकार सन्तुष्ट छ भन्ने शब्द प्रयोग गरे पनि उहाँ सन्तुष्ट देखिनुभएन, हामी राजनीति गर्नेले बुझ्नुपर्छ, उहाँ सन्तुष्ट हुनुहुन्न ।”

भारत जसरी नयाँ सरकार गठनप्रति सकारात्मक देखिएन, प्रचण्डले त्यसलाई अवसर हुने ठानेका छन् । उनमा फेरि गठबन्धन टुट्छ र माओवादीले सत्तामा जाने अवसर पाउँछ भन्ने आशाको त्यान्द्रो पलाएको छ ।

वामपन्थी विश्लेषक मुकुन्द आचार्य पनि प्रचण्डमा आशाको त्यान्द्रो पलाउनु स्वाभाविक भएको बताउँछन् । आन्तरिक र बाह्य परिस्थिति गठबन्धन अनुकूल नबनेको आचार्यको विश्लेषण छ ।

“आन्तरिकरूपमा कांग्रेस र एमालेबिच खटपट भइसकेको छ, थुप्रै भागबन्डालाई लिएर असन्तुष्टि छ”, उनले भनेका छन्, “बाह्यरूपमा अमेरिका र भारतबिच टकराब देखिन्छ, जसको प्रभाव नेपालको सत्तामा पनि देखिएको छ, सायद प्रचण्ड यही विषयलाई आधारमा मानेर बोलेका हुन् ।”

आचार्य छिट्टै सतहमै देखिने गरी गठबन्धन परिवर्तनका खेल हुने विश्लेषण गर्दछन् । उनका अनुसार लोकतान्त्रिक गठबन्धन निर्माणको बाध्यकारी परिस्थिति बाह्यरुपमा हुनसक्छ भने वामपन्थी गठबन्धन निर्माणको परिस्थिति आन्तरिकरूपमा बन्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट