काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय संरचनाको निर्माणका विषयमा छलफल गरेको छ ।
आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकको दोश्रो दिन आज पदाधिकारीलाई पूर्णता दिँदै केन्द्रीय संरचनाको निर्माण गर्ने विषयमा प्रदेश पदाधिकारीसहित अन्य सदस्यहरूसँग छलफल गरेको हो । पार्टीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी रहेको छ ।
पदाधिकारी चयन सहमतिमा गर्ने प्रयास हुने र सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट चयन गर्ने तयारी समाजवादीको छ । यस्तै बैठकले पार्टीको भावी कार्य योजनासमेत तय गर्ने नेताहरूले जनाएका छन् ।
यसैबीच सोमबार विभिन्न पार्टीबाट आएका कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधव नेपाल, सम्मानीत नेता झलनाथ खनालले पार्टीमा प्रवेश गराएका थिए । केन्द्रीय कमिटी बैठक मंगबार सम्पन्न हुने समाजवादीले जनाएको छ ।