काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘बजाऊ बजाऊ कृष्णजी वंशी बजाऊ’ बोलको गीत सार्वजनिक भएको छ। देशभर भक्तिपूर्ण वातावरणमा मनाइएको यस पर्वमा यो गीतले थप रौनक थपेको छ।
गीतको भिडियोमा राधा र कृष्णको भव्य लुगा लगाएर रिचा थापा, खेम बानिया, र सिन्हा जोशीले नृत्य गरेको दृश्य प्रस्तुत गरिएको छ, जसले दर्शकलाई भगवान कृष्णको प्रेममय संसारमा डुब्न बाध्य बनाएको छ। भिडियोमा विभिन्न प्रसिद्ध मन्दिरहरूको दृश्यसँगै भक्तजनहरूको समूहले भजन गाइरहेको पनि देख्न सकिन्छ, जसले गीतलाई अझ भक्तिपूर्ण बनाएको छ।
गीतको प्रत्येक शब्दले भगवान श्रीकृष्णको विशेषता र महिमालाई उजागर गरेको छ। ‘दुष्टहरूको नास गर्न चक्र चलाउ’ जस्ता शब्दहरूले गीतलाई अझ शक्तिशाली बनाएको छ। टेक तामाङ्गले लेखेको यस गीतमा स्राधा दियाली र दीपक महर्जनले स्वर दिएका छन् भने किशोर खतिवडाले संगीत भरेका छन्।
हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले छोटो समयमै दर्शकहरूको मन जितेको छ। दर्शकहरूले गीतको भव्यता र भक्तिपूर्ण प्रस्तुति बारे सकारात्मक प्रतिक्रिया दिएका छन्।
कृष्ण जन्माष्टमीको यस विशेष अवसरमा यो गीतले नेपाली संगीतमा नयाँ आयाम थपेको छ, जसले भक्तजनहरूको हृदयमा कृष्णप्रति अटूट भक्ति र श्रद्धा जगाएको निर्माण टिमको अपेक्षा रहेको छ।