काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको रास्वपाका एक नेताले बताए ।
भदौ ५ गते रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र जवाफ दिन भनेको थियो ।
तर, स्पष्टीकरणको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । लामिछानेलाई नै केन्द्रित गरी ढकालले फर्काएको जवाफलाई रास्वपा केन्द्रीय कमिटी बैठकले स्पष्टीकरणभन्दा कुण्ठा व्यक्त गरेको निष्कर्ष निकालेको छ ।
यसअघि महामन्त्री र प्रवक्ता पद खोस्दा मागिएको स्पष्टीकरणमा पनि ढकालले सभापति लामिछानेमाथि व्यक्तिगतरुपमा प्रश्न उठाएका थिए ।
ढकालले पार्टी सभापति हुन लामिछानेसँग नैतिक धरातल नरहेको र उनी ‘ठग’, ‘भ्रष्ट’ र ‘अपराधी’ भएको बताउँदै आएका छन् ।
उनले ‘रवि क्लब’बाट रास्वपा बनाउनुपर्ने बताउँदै आएका छन् ।