काठमाडौं । नेपाली निर्देशक बिमलेश अधिकारीको निर्देशनमा बनेको सिचुएशनल कमेडी-ड्रामा विधामा आधारित नयाँ वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। अमेरिकामा रहेका नेपाली कलाकारहरूको सहभागितामा निर्माण गरिएको यो सिरिजको पोस्टर मंगलबार सार्वजनिक गरिएको हो।
निर्देशक अधिकारीले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्। पोस्टर सार्वजनिक गर्दै उनले लेखेका छन्, “नमस्कार! हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु। यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ। यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ। यो सपना साकार गर्न सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद। आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ। जय श्रीकृष्ण!”
यो सिरिजबाट नेपाली चलचित्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्ने भएकी छन्। उनीसँगै सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भएको छ। यो सिरिजलाई विवेक चम्लागाईंले लेखेका हुन्।
सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो भने बिमलेश अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका छन्। सिरिजको पहिलो सिजनको छायाङ्कन समाप्त भएको छ र केही दिनमै टिजर सार्वजनिक गर्ने तयारी भइरहेको छ।
सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा आएका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ। सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।