किन बारम्बार आइरहन्छ नेप्सेको साइटमा समस्या ?-Sutra News

किन बारम्बार आइरहन्छ नेप्सेको साइटमा समस्या ?

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं । सेयर बजारमा केही कारोबार दिनयता निकै उथलपुथल देखिन्छ । बजारमा कहिले भारी अंकले बृद्धि त कहिले भारी अंकको गिरावट आइरहेको छ ।



तर, यस्तोमा सो कारोबारसँग सम्बन्धित नेपाल स्टक एक्सचेन्जको साइटमा भने निरन्तर समस्या आइरहेको छ । कहिले सेयर कारोबार गर्ने ट्रेडिङ्ग साइट नचल्ने त ओपन साइट नचल्ने भइरहेको छ ।

साताको दोस्रो कारोबार दिन मंगलबार पनि सुरुवाती कारोबार समयमै नेप्सेको ओपन साइट नेपाल स्टक डट कममा समस्या आयो । ब्रोकरहरुको साइट चलेपनि आमले हेर्ने वेबसाइट चलेन ।

झण्डै २० मिनेट जति आधिकारिक वेबसाइट रोकिएको थियो । साइट खुल्ने तर, इन्डेक्स फ्रिज हुने समस्या भइरह्याे ।

कारोबार सुरु भएको ६ मिनेटमै उच्च अंकको गिरावटपछि नेप्सेको आधिकारिकरुपमा हेरिने साइट फ्रिज बनेकाे थियाे । उच्च अंकले घटेपछि फ्रिज भएको साइट बढ्दा बन्द भएर फेरि घटेकाे बेला एक्टिभ भएको थियो ।

यसरी नेप्सेको ओपन साइटले काम नगर्दा मंगलबार केही लगानीकर्ताहरु अलमलमा पनि परे । कतिपयले सामाजिक सञ्जालमार्फत नेप्सेप्रति आक्रोश पोखेका छन् ।

यद्यपि, नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुली नेप्सेको साइटमा देखिएकाे समस्या सामान्य भएकाे बताउँछन् । नेप्सेभन्दा अन्य सेवा प्रदायकका कारण ग्राहकहरुले समस्या भोगिरहेका उनको दाबी छ ।

“नेप्सेको साइटहरूमा खास समस्या छैन, धेरै समस्या हाम्रोभन्दा अन्य माध्यमबाट आउने गरेको छ”, उनले भनेका छन्, “समस्या आएर ट्रेडिङ्ग रोकिएको अवस्था होइन, छैन ।”

नेप्से आफूलाई थप मजबुद बनाउने गरी लागिरहेको पनि पराजुलीले दाबी गरेका छन् । “हाम्रो सर्भरलाई थप व्यवस्थित बनाउँदैछौं, काठमाडौंसँगै हेटौंडामा पनि ब्याकअप राख्ने तयारीमा छौं”, उनले भनेका छन्, “हालमा देखिने सामान्य समस्या छिट्टै हल हुन्छन् ।”

यद्यपि, लगानीकर्ता तथा विश्लेषकहरू नेप्सेभित्र मनोमानी फस्टाइरहेको बताउँछन् । लगानीकर्ता तथा विश्लेषक जगतजङ्ग जिसी पटक-पटक समस्या देखिनु सामान्य नभएकाे बताउँछन् । सामान्य भनेर पन्छिनुमा पनि, नियत त हाेइन भन्ने प्रश्न झल्किने उनले बताए ।

“अरबौंको कारोबार हुने साइटहरुमा समस्या देखिएको विषयलाई सामान्यकृतरुपमा लिन मिल्दैन, यस्ता समस्या सामान्य हुन् भनेर पन्छिने शैली पनि सही होइन”, जिसी भन्छन्, “कतिपय नियतजन्यरुपमा नेप्सेबाट काम भएको पाइन्छ, ओपन साइट मात्रै होइन, ट्रेडिङ्ग साइटमा पनि थुप्रै समस्या आइरहेको छ ।”

यति संवेदनशील जिम्मेवारी लिएकाे संस्थाले आफ्नो साइट सञ्चालन तथा व्यवस्थापनको जिम्मा अन्य कम्पनीलाई दिनु नै गलत भएको लगानीकर्ता जिसीकाे भनाइ छ । “नेप्सले आफ्नो साइट व्यवस्थापन आफूले किन गर्दैन ? यस्तो संवेदनशील क्षेत्रमा अरुलाई किन भित्र्याउँछ ?”, जिसीकाे प्रश्न छ, “साइटहरुमा समस्या आउनु कतै साइट व्यवस्थापकसँग जोडिएको विषय त होइन ?”

नेप्सेले आफैंले सर्भर राखेको भएपनि साइट सञ्चालन तथा व्यवस्थापनको जिम्मा विदेशी कम्पनी वाइको सोलुसनलाई दिएको छ । नेप्सेले २०७५ देखि नै वाइकोलाई साइट सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो ।

निकै संवेदनशील मानिने नेप्सेको साइट नै यसरी विदेशीबाट हेरिरहँदा बेला–बेखत गम्भीर प्रश्न उठ्ने गरेको छ । तर, जसबारे कुनै सुनुवाई नियमनकारी निकायबाट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट