काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नहुने गरी पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको बताएका हुन् ।
यस क्रममा उनले आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको प्रतिक्रिया दिए । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन,’ उनले भने, ‘न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिन पर्छ ।’
ढकालले सहकारी प्रकरणका सवालमा रास्वपा सभापति लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको दाबी गरे । उनले आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रम छरेर राजनीति गरिराखेको उनको आरोप थियो ।
मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।