काठमाडौं । फिल्म ‘वर एण्ड वधु’ आगामी भदौ १४ गते, शुक्रबारबाट रिलिजमा आउँदैछ। यसै अवसरमा नायिका आँचल शर्मा फिल्मको प्रचारमा सक्रिय देखिएकी छिन्। उनले पछिल्लो समय आफूले स्टारडमको दबाब लिन छाडेको र फिल्म ‘वर एण्ड वधु’ प्रति आफू निकै ढुक्क रहेको बताइन्।
सोमबार कन्यापूजाका लागि काभ्रेको पनौती पूजामा पुगेकी आँचलले सोही अवसरमा केही मिडियासँगको कुराकानीमा उनले दर्शक कुनै पनि कलाकारको अनुहार हेर्नलाई हलसम्म नजाने र फिल्मको कथावस्तु नै उत्कृष्ट भएमा मात्र दर्शकहरू हलसम्म आउने दाबी गरिन्।
‘मैले पहिले स्टारडमको चाप खुबै लिएँ, तर अहिले यस्तो दबाब लिन मन लाग्दैन। अहिलेका दर्शक कुनै पनि कलाकारको अनुहार हेरेर हलसम्म जानुहुन्न।’, आँचलले भनिन्, ‘अहिले कथावस्तु र फिल्म नै राम्रो हुनुपर्छ। होइन भने जुनसुकै स्टार भए पनि फिल्म चल्दैन। फिल्म नै रोचक भएमा दर्शकले मन पराउनुहुन्छ। त्यसैले, मैले अहिले स्टारडमको भार बोक्न छाडेकी छु।’
मिलन चाम्सको निर्देशनमा बनेको यस फिल्ममा आँचलसँगै विवेक कर्मचार्यले मुख्य भूमिका निर्वाह गरेका छन्। विवेकले पनि फिल्मको कथावस्तु र मेकिङ रोचक रहेको कारण दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरेका छन्।
फिल्मको कथावस्तु, निर्देशन, र प्रस्तुतीकरणलाई लिएर फिल्मको निर्माण टिम आशावादी रहेको छ। अब दर्शकको प्रतिक्रियाले नै फिल्मको सफलता मापन गर्नेछ।
यो फिल्ममा जानुका थापाले लगानी गरेकी छन् भने अमित रिजाल कार्यकारी निर्माताको रूपमा रहेका छन्। फिल्म प्रेम, रोमान्स, धोका र कमेडीको कथा लिएर आएको छ, र ट्रेलर तथा गीतसंगीतलाई दर्शकहरूले रुचाएको कारणले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।