ममताका श्रीमानले खोजेका थिए- श्रीमती मरेको कति दिनपछि अर्को बिहे गर्न मिल्छ ?-Sutra News

ममताका श्रीमानले खोजेका थिए- श्रीमती मरेको कति दिनपछि अर्को बिहे गर्न मिल्छ ?

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं । पछिल्लो केही दिनयता अमेरिकामा भएको एउटा घटनाले विश्वभर रहेका नेपालीलाई सोचमग्न बनाएको छ । श्रीमानसँग बस्दै आएकी ममता भट्ट बेपत्ता भएको खबरबाट फैलिएको यो घटना उनकै श्रीमानतिर फर्किएको छ ।



अमेरिकामा करिब एक महिनादेखि बेपत्ता भएकी भनिएकी नेपाली नर्स ममताको ‘हत्या’ आरोपमा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । उनले श्रीमतीको हत्या गरी शव लुकाएर घटनालाई दबाउन खोजेको प्रहरीको आरोप छ ।

काभ्रे माइती भएकी ममता ३० जुलाईदेखि अमेरिकामा सम्पर्कविहीन भएकी थिइन् । सुरुका दिनमा उनका श्रीमान यस घटनाबारे मौन बसे । घटनाको एक हप्तापछि अर्थात ५ अगष्टमा मात्रै उनले प्रहरीलाई औपचारिक रुपमा जानकारी गराएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा नरेश आफै पक्राउ परेका थिए ।

एक वर्षकी छोरीलाई लिएर घरमा एक्लै बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको लामो समय भए पनि अपराध स्वीकार्न सकेका छैनन् । तर, उनीमाथि प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।

प्रहरीले नरेशलाई सोमबार मनसासस्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले अंग्रेजी राम्रोसँग बोल्न नआउने भन्दै दोभासेको सहयोगमा बयान दिए । उनले आफूले अपराध नगरेको दाबी गरे ।

उक्त सुनुवाइपछि अदालतले उनलाई हिरासतमै राख्न आदेश जारी गरेको छ । हिरासतमुक्त हुँदा भाग्न सक्ने, समाजमा थप खतरा हुने भन्दै न्यायधीशले हिरासतमै राख्न अनुमति दिएको हो । अर्को सुनवाइ दुई महिनापछि २४ अक्टोबरमा तोकिएको छ ।

प्रहरीले उनको घरबाट हत्याका प्रमाणहरु नष्ट गर्न खोजिएका धेरै प्रमाण फेला परेको छ । घरको कार्पेटमा रगतको दाग, बाथटवमा रगत, नरेशले तीन वटा चक्कु किनेर ल्याएको जस्ता प्रमाण प्रहरीले अदालतमा पेश गरेको थियो ।

प्रहरीले नरेशले योजनाबद्ध रुपमा श्रीमतीको हत्या गरेको बलियो प्रमाण पेश गरेको छ । त्यसमा उनको गुगल सर्च हिस्ट्रीलाई आधार बनाइएको छ ।

उनले श्रीमती बेपत्ता भएको भनेको तीन महिनाअघि अर्थात अप्रिल २१ मा आफ्नो काम गर्ने कम्प्युटरबाट ‘how soon can a person get married after his wife dies’ श्रीमती मरेको कति दिनमा एउटा पुरुषले अर्को बिहे गर्न सक्छ ? भनेर गुगलमा सर्च गरेका फेला पारेको छ ।

यता, नरेशका वकिलहरूले उनीविरुद्ध ठोस प्रमाण नभएको दाबी गर्दै आएका छन् । कुनै अपराधिक पृष्ठभूमि नरहेको भन्दै वकिलहरूले उनलाई धरौटीमा छाड्न माग गर्दै आएका छन् । यसबारे उनी आफै मौन बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट