नेप्सेमा अर्को ठूलो पहिरो-Sutra News

नेप्सेमा अर्को ठूलो पहिरो

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आइतबार ७९.८८ अंकले घटेको नेप्से मंगलबार १११.९६ अंकले घटेको हो । समग्रमा ३.८६ प्रतिशतले घट्दै नेप्से २७८२.६० को बिन्दुमा ओर्लिएको छ ।



भारी अंकले घटेको नेप्सेमा कारोबार रकम पनि केही खुम्चिएको छ । मंगलबार ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको भयो ।

जुन झण्डै तीन साता यताकै कम कारोबार रकम हो । आइतबार पनि १९ अर्बभन्दा माथिको भएको थियो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २० कम्पनीको मात्रै मूल्य बढ्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशतले बढ्दा सबै क्षेत्रका सूचक घटे ।

मंगलबार बैंकिङ समूहको सूचक ४.९५ प्रतिशतले घट्दा विकास बैंकको सूचक ४.१८ प्रतिशतले घट्यो भने फाइनान्सको सूचक ४.६९ प्रतिशतले घट्यो । यसैगरी, हाइड्रोपावर ३.९६ प्रतिशतले घट्यो भने लगानी ४.१३ प्रतिशतले घट्यो ।

यसैगरी, जीवन बीमाको सूचक ३.६५ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधनको सूचक २.९३ घट्यो । माइक्रोफाइनान्सको सूचक २.९६ प्रतिशतले घट्दा निर्जीवन बीमा २.४५ प्रतिशत, अन्य ३.८५ प्रतिशत र व्यापार समूहको सूचक २.१६ प्रतिशतले घट्यो ।

भारी अंकले नेप्से घट्दा पनि आज तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । थ्री स्टार हाइड्रोपावर र कर्णाली डेभपलमेन्ट बैंकको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढ्यो ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशतभन्दा बढीले घट्दा अन्यको भने सोभन्दा कम प्रतिशतले घट्यो ।

विशेषगरी ठूला लगानीकर्ता नाफा बुक गर्न उद्धत हुँदा नेप्से उच्च अंकले घटेको बजार विश्लेषकहरू बताउँछन् । पछिल्लो दुई महिनाकै बीच नेप्सेमा झण्डै एक हजार अंकको बृद्धि भएको थियो । सो आधारमा नेप्से घट्नुलाई आश्चर्य मान्न नपर्ने बजार विश्लेषकहरुको धारणा छ ।

उच्च अंकले बढ्दा परिपक्क हुन नेप्सेमा करेक्सन आउने गर्दछ । यसअघि साउन २२ मा नेप्सेमा १४५ अंककाे गिरावट आएकाे थियाे, त्यसयता नेप्सेमा भएकाे याे दाेस्राे ठूलाे गिरावट हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट