काठमाडौं । स्टार कलाकारहरू रहेको बहुप्रतीक्षित फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु भएको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा बालाजुस्थित एनएफडीसी ल्याबमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन विधिवत रूपमा आरम्भ गरिएको हो।
फिल्मकी निर्देशक कृषा चौलागाईले छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट फिल्मको छायांकन सुरु भएको जानकारी दिइन्। फिल्मका अन्य प्रमुख कलाकारहरुमा दयाहाङ राई, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र विशाल पहारी रहेका छन्। फिल्ममा आर्यन सिग्देलले विशेष भूमिका निर्वाह गर्नेछन्।
अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सबै कलाकारले फिल्मको छायांकन सुरु गरेको जानकारी उनले बताइन् ।
अनुप विक्रम हाल अमेरिकामा रहेकाले उनी अमेरिका फर्केपछि छायांकनमा जोडिनेछन् भने नायिका आँचल आफ्नो फिल्म ‘वर एण्ड वधु’को रिलिजपछि ‘पिताम्बर’को छायांकनमा सहभागी हुने छिन्।
काठमाडौंमा केही दिनको छायांकनपछि निर्माण टोली नवलपरासी पुग्नेछ, जहाँ फिल्मको दोस्रो चरणको छायांकन हुनेछ। यसअघि, नवलपरासीमा नै फिल्मको पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो।
केपी फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसले सहकार्य गरेको ‘पिताम्बर’ को छायांकन पुरुषोत्तम प्रधानले गरिरहेका छन्। विशाल चौलागाईं निर्माता रहेको यो फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ। प्रदीप भारद्वाजले लेखेको कथा निर्देशक चौलागाईंले लार्ज स्केलमा बनाउँदै छिन्। यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्।