काठमाडौं । मेटाका मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले उनलाई कोविडसँग सम्बन्धित पोस्ट सेन्सर (हटाउन) गर्न दबाब दिएको खुलासा गरेका छन् ।
मेटा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी हो । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै यस्तो जानकारी दिएका हुन् ।
उनले पत्रमा भनेका छन्, ‘२०२१ मा महिनौँसम्म, ह्वाइट हाउसका वरिष्ठ अधिकारीले हामीलाई कोभिड १९ सँग सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए, यसमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो, जब हामी यसमा सहमत भएनौँ, हाम्रो टीम निराशा भयो ।’
उनले सामग्री हटाउने वा नहटाउने हाम्रो निर्णय भएको बताए । आफ्ना निर्णयका लागि जिम्मेवार रहेको बताउँदै जुकरबर्गले पत्रमा थपेका छन्, ‘सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ, हामी यस विषयमा बढी मुखर नभएकोमा मलाई खेद छ ।’
रिपब्लिकन पार्टीको सदन न्यायपालिकाले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा पोस्ट गरेको छ । यसमा मार्क जुकरबर्गको पत्र शेयर गरिएको छ ।
मार्क जुकरबर्गले तीन वटा कुरा स्वीकार गरेका छन् । पहिलो- बाइडेन र ह्यारिस प्रशासनले अमेरिकीहरूलाई सेन्सर गर्न फेसबुकलाई दबाब दियो । दोस्रो- फेसबुकले अमेरिकीहरूलाई सेन्सर गर्यो । तेस्रो- फेसबुकले हन्टर बाइडेनको ल्यापटपलाई सेन्सर गर्यो ।