काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट बाहिरिएपछि छटपटी देखाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पद गएपछि प्रचण्डले औडाहा र छटपटी देखाएको टिप्पणी गरेका हुन् ।
प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेलाई लेखा समितिको सभापति नदिएको भन्दै आक्रोश व्यक्त गरे । सोही क्रममा प्रतिपक्षी दलको नेताको पद पनि लैजान आग्रह गरेका थिए । यसका जवाफ दिँदै सांसद पन्तले त्यो पद माओवादी केन्द्रलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिए ।
‘संविधान त पढ्नुस् नेता ज्यु, प्रमुख पद तपाईंले खोजेर हामीले खोजेर पाउने पद होइन, संविधानले तपाईंको पार्टीलाई दिएको छ,’ उनले भने, ‘आफूलाई नचाहिए छेउमै जनार्दन जी (जनार्दन शर्मा) हुनुहुन्छ उहाँलाई दिनुस् ।’
पन्तले सामान्यतया प्रतिपक्षी दलले नयाँ सरकार बनेको सय दिनसम्म सरकारको आलोचना नगर्ने परम्परा रहेको उल्लेख गर्दै प्रचण्डले त्यो परम्परा तोडेको आरोप लगाए ।