मिडिया क्षेत्रलाई पनि सच्याउने कि !-Sutra News

मिडिया क्षेत्रलाई पनि सच्याउने कि !

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

धेरै परिवर्तन अङ्गाल्दै नेपाली मिडिया अहिलेको अवस्थासम्म आइपुगेको हो । हाल नेपालमा प्रकाशन, प्रशारण र अनलाइन प्लेटफर्मसहित विभिन्न मिडिया माध्यमको संख्या कल्पना गरेभन्दा बढी छ । दर्ता गरिएको अनलाइन पोर्टलहरूको संख्या मात्रै हेर्ने हो भने पाँच हजारभन्दा बढी छ । निजी पत्रपत्रिका, टेलिभिजन संस्थान र अनलाइन पोर्टलहरूको वृद्धि छक्क लाग्दो छ । यसरी सूचनाको स्रोत बग्रेल्ती हुनु राम्रो पनि हो । मिडियाको बाहुल्यताले खुला संवाद र समालोचनात्मक सोचको संस्कारको विकास गर्छ । लोकतान्त्रिक मूल्यहरूको सशक्तीकरण र नागरिक भागीदारीलाई उत्साहित बनाउँछ । लोकतान्त्रिक समाजमा स्वतन्त्र मिडियाले नागरिकलाई जतिसक्दो सही सूचना प्रदान गर्नुपर्छ । यद्यपि, अझै पनि स्वतन्त्र मिडियाहरू राजनीति हस्तक्षेप, नियमनको अभाव, पत्रकारको असुरक्षा, डिजिटल विभाजन र आर्थिक कारणले ग्रसित छन् ।



नेपाली मिडिया उद्योगहरूले आर्थिक चुनौतीको सामना गर्दै आएका छन् । जसले स्वतन्त्र र खोज पत्रकारितामा प्रत्यक्ष प्रभाव पर्छ । एक त थोरै तलब, त्यसमाथि पनि समयमा पाउन नसक्नुले पत्रकारितामा ठुलो संकटको अवस्था निम्त्याएको छ । संस्थानले तलब दिएर काम गराउन सकेको छैन । विज्ञापन नै धेरै मिडिया हाउसको मुख्य आय  स्रोत हो । त्यसको सट्टा राजनीतिक सम्पर्क वा व्यापारीहरूको सहयोगमा कतिले विज्ञापन लिएर मिडिया चलाउन सफल भएका छन् भने कतिले व्यक्तिगत पैसाले मिडिया सञ्चालन गरेका छन् । ठुला व्यापारी वा राजनीतिक सम्बन्धका आडमा मिडिया चलाउनेहरू प्रभावित हुने गरेको पनि देखिन्छ ।

अर्कोतिर असामान्य र अन्यायपूर्ण विज्ञापन नीतिको प्रभाव पत्रकारितामा परेको छ । यी सबै हस्तक्षेप नहुन सरकारले स्थायी राजस्व मोडलको विकास, मिडिया बाहुल्यका लागि प्रोत्साहन र खोज पत्रकारिताको समर्थन गर्न आवश्यक छ । मिडिया सङ्गठनहरूले पनि स्थायी राजस्व मोडलको विकास र प्रोत्साहन गर्न आवश्यक छ । यसले मिडिया संगठनलाई विज्ञापनको बाह्य आधारमा मात्रै निर्भर नहुने अवस्था ल्याउँछ । स्वतन्त्रता र पत्रकारिता प्रकाशनका लागि आवश्यक खोज कार्यहरूलाई समर्थन गर्न पनि सहयोग पु¥याउँछ ।

प्रविधिको युगमा इन्टरनेट र सामाजिक सञ्जालले मिडिया परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । अनलाइन पत्रपत्रिका, वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्मले सूचनाको पहुँचलाई विशालता दिएका छन् । तर, समाचारको आधिकारिकतामा भने अन्योल सिर्जना गरेको छ । सही सूचनाको प्रभाव हुनेभन्दा पनि गलत सूचना बढी फैलिने सक्ने सम्भावना अत्यधिक बढी छ । यो एउटा डरलाग्दो चुनौती हो, आजको स्वतन्त्र मिडियाको लागि । भ्यूज बढाउने हुटहुटीमा पत्रकारिताको सामान्य मर्म नै नबुझी जे पनि समाचार बनाइदिँदा खासमा समाचारको मोडल नै मोडिएको छ ।

कसले फेसबुकमा लेखेको स्टाटस नै, धेरैको लागि अहिले समाचार हुने गरेको छ । मान्छेहरू मूलधारका मिडियाबाट सूचनाको उपभोग गर्नुको सट्टा फेसबुक, टिकटक, युट्युब, रिल्स आदिबाट गर्ने गर्छन् । यि प्लेटफर्महरू सूचना साझा गर्ने थलो हो, सूचनाको आधिकारिक थलो होइन । तपाई हामीले फेसबुकमा सेयर गरिएको समाचारको लिंक क्लिक गरेर, भित्र के कुरा लेखिएको छ भनेर कति जनाले हेर्ने गरेका छौँ ? हामी हेडलाइन हेरेर, धारणा बनाउने हो, पुरै समाचार पढ्न कसले फुर्सद छ र ? हाम्रा औँलाहरू स्क्रिन स्विप गर्न यति अभ्यस्त भइसकेका छन् कि अब हामीलाई कुनै पनि सूचना १० सेकेन्डभित्र चाहिन्छ, नत्र हामी स्क्रिन स्विप गरेर, अर्कै तिर लाग्छौँ ।

अहिले, नेपाली मिडिया क्षेत्रमा थोरै काम गरेको, अलि अलि पैसा भएपछि मान्छेमा सम्पादक, प्रकाशक र मिडिया मालिका बन्ने होड नै चलेको छ । वर्षापछि जङ्गलमा जसरी च्याउहरू उम्रिने गर्छ, पछिल्लो एक दशकमा नेपालमा त्यसरी नै डिजिटल मिडियाहरू उम्रिएका छन् । अनलाइन पोर्टलहरू खोल्ने ट्रेन्ड नै बनिसकेको छ । एउटा स्मार्टफोन, एउटा ल्यापटप, एउटा बुम माइक र क्यामरा भए भयो । यस्ता च्याउ जस्ता उम्रिएका मिडियाहरू, वास्तविक मिडिया क्षेत्रलाई छिया–छिया पारेका छन् । जति धेरै मिडिया, सूचना र खोज पत्रकारितामा उति धेरै विविधता हुनु पर्नेमा, यहाँ कपि पेस्ट सिवाय अरू केही देखिँदैन । यसले गर्दा वास्तविक पत्रकारहरू, ओझेलमा परेका छन् ।

नवपत्रकारहरुले सञ्चालन गरेको मिडियाले कति जनालाई रोजगारी प्रदान गरेको छ वा उसको मिडियाको पहुँच कति जनसंख्यासम्म छ ? उसले सञ्चालन गरेको मिडियाबाट, उसैको जीविकोपार्जन भइरहेको छ त ? यस्ता थुप्रै मिडिया सञ्चालकहरूलाई प्रत्यक्ष देखको छु, जो मिडियाको नाममा ब्ल्याकमेलिङ, दलाली, गरेर जीवन धानिरहेका छन् । हामीलाई पनि सूचना, खोजमूलक समाचार चाहिएको छैन । हामीलाई स्टन्ट, भाइरल कन्टेन्ट चाहिएको हो र त्यहीँ नै पाइरहेका छौँ । यो समग्र मिडिया क्षेत्र र समाजको लागि घातक हो ।

मिडिया स्वतन्त्रता र पारदर्शिताको संरचनाका लागि कानुनसँगै कडा नियमनको जरुरी छ । संविधानमा मिडिया स्वतन्त्रताको अधिकार र विशेषता सुरक्षित गरिएको छ । अब वास्तविक पत्रकारहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्छ । के अब नेपालमा अझै मिडियाको आवश्यकता छ त ? भएकै कतिपय मिडियाहरू बन्द हुने अवस्थामा छ, कति बन्द भैसकेका छन् । सञ्चालनमा रहेका मिडियाको आर्थिक अवस्था जर्जर छन्, कति बेला बन्द हुने ठेगान छैन । यस्तो अवस्था प्रेस काउन्सिलले अब मिडिया मर्जरको अवधारणा अगाडि सार्नु पर्ने बेला भएको छ । र, स्वयम् मिडिया सञ्चालकहरूले पनि मिडिया मर्ज गरेर, मिडिया क्षेत्रलाई पुनः जीवित गर्नुपर्ने हुन्छ ।

मिडिया क्षेत्रमा देखिएको यो अवस्थाको खुलेर बहस हुन जरुरी छ । र, हामी पाठक तथा विश्लेषक वर्गहरूले पनि यस विषयमा गम्भीर हुनु जरुरी छ । हामीले कुन माध्यमबाट सूचनाको उपभोग गरिरहेका छौँ, यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । व्यक्ति पिछे सञ्चालित मिडियाले एक व्यक्ति वा एउटा समूहलाई त क्षणिक खुसी त देला तर, समग्र समाज र मिडिया क्षेत्रमा यसको कुनै योगदान रहँदैन ।

पत्रकारिताको आफ्नै मर्म छ । वास्तविक पत्रकारहरू म पत्रकार हुँ भन्न डराउने अवस्थाको सिर्जना भएको छ । अहिले नेपालमा सबैभन्दा बढी कोही छ भने त्यो पत्रकारहरू छन् । तर, पनि नेपाली समाजको वास्तविक समाचारहरू बाहिर आइरहेका छैनन् । पत्रकारिता समाजको ऐना हो र यो ऐनालाई कसरी प्रयोग गर्ने, त्यो हामी माथि भर पर्छ । वर्तमानमा समयमा समाजको ऐनामाथि बाक्लो धुलो जमेको छ । यो जमेको धुलो सफा गर्ने कि अझै धुलो थप्ने हो ? एक पल्ट सबैले मनन गर्ने की ?

लेखकका अन्य लेखहरू पढ्न तलकाे लिंकमा जानुहाेस्

सुशासनको खोजी, कहिले होला पूरा ?

कहिले सुध्रिने दल, कहिले सुधार्ने विश्वविद्यालय ?

गणतन्त्रवादीबाटै जोखिममा रहेको गणतन्त्र !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट