नेपाली बजारमा जोइलोङ्ग तथा एसआरएमका ८ मोडल, कुनकाे कति मूल्य ?-Sutra News

नेपाली बजारमा जोइलोङ्ग तथा एसआरएमका ८ मोडल, कुनकाे कति मूल्य ?

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं । भीजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरूलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरूले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरूका माग पूरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।



जोइलोङ्ग तथा एसआरएम चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा चिनिन्छ ।

हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएका हुँदा कालान्तरमा उपभोक्ताले बिक्री पश्चातको सर्भिस तथा पार्ट पुर्जा उपलब्धतामा दुःख पाउने सम्भावना अत्यधिक रहेको र यस सम्भावनालाई मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनी जोइलोङ्ग तथा एसआरएमका गाडी नेपालमा भित्रयाएको कम्पनीले जनाएको छ ।

यसले कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्ष सम्म यी कम्पनीहरूले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ ।

जोइलोङ्ग कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले भने, ‘जोइलोङ्गका ठूला माइक्रोबसहरू वर्षौंदेखि अध्ययन र अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।’

जस्तोसुकै बाटोमा चलाउन सकिने गरि यी गाडीहरू डिजाइन गरिएको कम्पनीको भनाइ छ । हाल जोइलोङ्गका गाडीहरू विकसित मुलुकहरू अस्ट्रेलिया, सिंगापुर, मलेसियाजस्ता देशमा अत्याधिक रूचाइएका हुन् ।

बजारमा उपलब्ध अन्य गाडीहरूभन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङ्गले बताए ।

उक्त पत्रकार सम्मेलनमा भीजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी ५ वटा विभिन्न प्रकारका गाडीहरू पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरूमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ ।

हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदुषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले भने, ‘साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखिए पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएसजस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरेको छ ।’

भीजी मोटर्सका सीइओ विवेक बिजुक्छेले भने, ‘कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारको कुरा गर्ने हो भने हाल नेपालले विश्वका सबै देशहरूलाई पछाडि पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिंङ स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा भीजी मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ स्टेसन र नेपालभरि १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’

उनले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गरेका छन् । कार्यक्रममा विक्री सुरुवात गरिएको ओइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन् ।

कुनकाे मूल्य कति ?

जोइलोङ्ग इए ४, १५ सिटर (रु ६४ लाख, ८६ kwh)

जोइलोङ्ग इए ५. १७ सिटर (रु ६० लाख, ६० kwh)

जोइलीङ्ग इए ६, २० सिटर (रु ७६ लाख, ८६ kwh)

एसआरएम टी-३ पिकअप (रु ३६ लाख, ४२ kwh)

एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ kwh)

एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ kwh)

एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ kwh)

एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ kwh)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट