काठमाडौं । आम जनता पार्टी (आजपा)ले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् ।
आजपाले आजदेखि सुरु गरेको दुई दिने केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा त्यसका लागि पार्टीको संगठनात्मक क्षमतामा गुणात्मक विकास गर्न पर्नेमा जोड दिइएको छ ।
पार्टीद्वारा अघि सारिएका रुपान्तरणकारी एजेण्डा कार्यान्वयन गर्न संगठन सुदृढीकरणको विकल्प नरहेको जनाउँदै परिवर्तनकारी जनता पहिचान गरी संगठनमा गोलबन्द गर्नु आवश्यकता भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संवैधानिक व्यवस्था, राजनीतिक नेतृत्वको चरित्र, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको विश्लेषण तथा पार्टीले अघि बढाइरहेका कार्यक्रमको समीक्षा, भ्रष्ट्राचारविरुद्धको आन्दोलन लगायतका विषयवस्तु समेटिएका छन् ।
बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष प्रभु साहले राष्ट्र र राष्ट्रियता बलियो तुल्याउन सम्पूर्ण देशभक्त शक्तिलाई गोलबन्द हुन आह्वान गरे । उनले भने, “देशमा परिवर्तन चाहने शक्ति एवं पार्टीसँग सहकार्य गर्नुपर्छ, अग्रगामी सोच भएका दलसँग संवाद, सहकार्य र एकताको माध्यमबाट अघि बढन जरुरी छ ।”
बैठकमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र, शिक्षक दरबन्दीलगायतका दलले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पार्टीको धारणा समेटिएको विशेष प्रस्ताव पेस गरिएको छ ।