काठमाडौँ । आज साफ यू २० च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । खेलमा नेपाल र बंगलादेश आमने सामने हुने भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराहन्न २ः३० बजेदेखि हुने भएको छ । लगातार भइरहेको वर्षाले दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा हुने भएको एन्फाले जानकारी दिएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । बंगलादेशले सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको थियो ।
नेपाल र बंगालदेश यस प्रतियोगिताको एकै समूहमा थिए । समूह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो ।
नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू २० च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेश अहिलेसम्म उपाधिविहीन छ । बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।