काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ ।
निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए ।
फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।
पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।
फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन् ।
क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।
निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।
यसअघि कात्तिक १५ गते लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टरः टेक वान’ पनि रिलिज हुँदै छ । ‘एक्टर’ ले रिलिज मिति तय गरेकोमा ‘मायावी’ पनि सोही मितिमा आउने भएसँगै बक्स अफिसमा दुई फिल्मको भिडन्त तय भएको हो।
राजन भुसालको निर्देशन रहेको ‘एक्टर’ मा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा लगायत कलाकारहरूको अभिनय छ। आकाश बराल र राजन भुसालको लेखन रहेको फिल्मको निर्माता थम्मन कुमार भण्डारी हुन्।
यता निर्देशक भट्टराईले ६ वर्ष अगाडि आफूले देखेको सपनाको रुपमा ‘मायाबी’लाई परिभाषित गरेका छन् । उनले ‘एक्टर’को टिमसँग मिलेर सौहार्दपूर्ण वातावरणमा फिल्मको प्रमोशन गर्ने वाचा समेत गरेका छन् ।
अब नाम चलेका दुई कलाकारको फिल्म एकै मितिमा आउने निश्चित भएपछि तिहारको बक्स अफिस भिडन्त रोचक हुने देखिएको छ ।