काठमाडौं । यौन उत्पीडनको आरोपपछि मलयालम चलचित्र कलाकार संघ (एएमएमए)लाई विघटन गरिएको छ । जसका कारण एमएमएका अध्यक्ष तथा साउथ सुपरस्टार मोहनलालसहित १७ सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
एएमएका तीन सदस्यविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको छ । तीमध्ये दुईजना सदस्यविरुद्ध मुद्दा दर्ता भएको छ । हेमा समितिको प्रतिवेदन आएपछि संघ भंग गर्ने निर्णय भएको हो ।
विगत केही वर्षदेखि मलयालम फिल्म उद्योगमा महिला कलाकारहरूमाथि यौन शोषणको आरोप लागेको थियो । सोमबार मलयालम फिल्म उद्योगमा सनसनी मच्चिएको थियो जब अन्य अभिनेत्रीहरु पनि यौन उत्पीडनको आरोपमा अगाडि आउन थालेका थिए।
यसबारे छानबिन गर्न सन् २०१९ मा निवृत्त न्यायाधीश हेमाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको थियो । ४ वर्षपछि १९ अगस्टमा हेमा समितिले २३३ पृष्ठको प्रतिवेदन केरला सरकारलाई बुझायो, जसमा धेरै ठूला कलाकारहरूद्वारा शोषण भएको कुरा प्रकाशमा आएको थियो ।
निर्देशक तुलसीदासमाथि अभिनेत्री श्रीदेविका र गीता विजयनले लगाए आरोप
वरिष्ठ फिल्म निर्माता तुलसीदासमाथि अभिनेत्री श्रीदेविकाले आरोप लगाएकी छन् । उनले तुलसीदासले आफ्नो फिल्म ‘आवान चण्डियुदे माकन’ (२००७) मा काम गर्दा दुर्व्यवहार गरेको दाबी गरेकी छन् । यस फिल्ममा उनीसँगै पृथ्वीराज सुकुमारन थिए । यो घटना सन् २००६ मा फिल्मको सुटिङ चलिरहेको बेला भएको अभिनेत्रीको दाबी छ ।
श्रीदेविकाले भनिन्, ‘अवान चण्डियुडे माकनको सुटिङका क्रममा तुलसीदासले मेरो होटलको कोठाको ढोका ढकढकाउने गर्थे धेरै दिनसम्म । मैले होटलको रिसेप्सनिस्टलाई पनि सोधें, जसले तुलसीदास हो भनेर पुष्टि गर्यो ।’
अभिनेत्री गीता विजयनले पनि तुलसीदाससँगको आफ्नो पीडादायी अनुभव सुनाएकी छिन् । आफूले पनि यस्तै उत्पीडनको सामना गर्नुपरेको र यसविरुद्ध आवाज उठाउँदा धेरै फिल्मबाट निकालिएको उनले बताइन् । गीताले सन् १९९१ मा आएको फिल्म ‘छनछट्टम’को सुटिङका क्रममा तुलसीदासले लगातार दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । तर तुलसीदासले यी आरोप अस्वीकार गरेका छन् । ‘छनछट्टम’ को सुटिङका क्रममा आफू कहिल्यै गीताको ढोकामा नगएको उनको दाबी छ ।
यस्तै, अभिनेत्री मीनु मुनीरले अभिनेताबाट विधायक बनेका एम मुकेश, जयसूर्या, मनियानपिल्ला राजु र इडावेला बाबुमाथि यौन शोषणको आरोप लगाएकी छन् । एक चर्चित अभिनेत्रीले पनि धेरै वर्षअघि फिल्म निर्मातालाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । – ऐजेन्सी