सेयर बजारले देखाएको संकेत के ?-Sutra News

सेयर बजारले देखाएको संकेत के ?

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भयो । नेप्से ३.८० बिन्दुले बढेर २७८६.४० को बिन्दुमा उक्लियो ।



झिनो अंकले नेप्से बढेपनि बुधबार कारोबार रकम भने निकै घट्यो । ३ करोड ५० लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा बुधबार कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाखमा खुम्चियो । बुधबार भएको कारोबार रकम डेढ महिना यताकै कम हो ।

यस दिन बैंकिङ समूहको सूचक ०.९२ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ०.०९ प्रतिशतले बढ्यो भने हाइड्रोपावर ०.४९ प्रतिशतले बढ्दा लगानी १.०१ प्रतिशतले बढ्यो । यसैगरी आज उत्पादन ०.०३ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.०९ प्रतिशत बढ्यो ।

बुधबार विकास बैंक ०.८० प्रतिशत, फाइनान्स १.६९ प्रतिशत जीवन बीमा ०.४४ प्रतिशत माइक्रोफाइनान्स १.०८ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत र व्यापार समूह १.४३ प्रतिशतले घटे ।

झिनो अंकले नेप्से घटेपनि कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटे । २४४ कम्पनीमध्ये ९८को मूल्यमा बृद्धि हुँदा १४२ कम्पनीको मूल्य घट्यो ।

लगातार उच्च अंकको गिरावटपछि बुधबार नेप्सेले लय समात्ने अपेक्षा धेरै लगानीकताले गरेका थिए । हुन पनि बुधबारको सुरुवाती समयमा नेप्सेमा उच्च अंकको बृद्धि पनि भएको थियो ।

तर, झण्डै १०० अंकको उतारचढावसँगै नेप्सेले उकालो यात्रा तय गर्न सकेन । किनबेच नै प्रभावित हुँदा बुधबार नेप्सेले उत्साह जगाउन सकेन ।

कारोबार रकममा उच्च गिरावटले नेप्सेमा क्रमशः उत्साह हराउन थालेको त होइन भन्ने प्रश्न उब्जाएको छ । विशेषगरी सत्ता राजनीतिमा उथलपुथलको चर्चासँगै नेप्से प्रभावित भएको देखिन्छ ।

बुधबारको कारोबार दरलाई हेर्दा, मनोविज्ञान निकै प्रभावित भएको पाइन्छ । धेरै लगानीकर्ता किनबेचभन्दा होल्ड गर्ने निर्णयमा पुग्दा बजार प्रभावित भएको विश्लेषण बजार विश्लेषकहरुको भनाई छ ।

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे नेप्से करेक्सन मोडमा रहेको कारण इन्डेक्समा उतारचढाव र कारोबार रकममा तलमाथि हुनुलाई सामान्यकृतरुपमा बुझ्न आग्रह गर्दछन् । केही कारोबार दिनपछि नै नेप्सेले लय समात्ने उनले बताए ।

“पछिल्लो दुई महिनाको बीचमा नेप्सेमा झण्डै १२ सयको बृद्धि भयो, नेप्से यसरी नै अगाडि बढिरहने हुँदैन, नेप्से परिपक्क हुन करेक्सन हुनैपर्छ”, रजौरे भन्छन्, “दुई दिनको गिरावट करेक्सन हो, आगामी दिनमा नेप्सले पुनः लय लिन्छ ।”

करेक्सनपछि मार्केटले तीन हजारको बिन्दुलाई पार गर्दै अगाडि बढ्ने स्थिति देखिएको रजौरेको विश्लेषण छ । “यो लगानी गर्ने मौका हो, यो करेक्सनले बजारलाई थप मजबुद बनाउँछ, केही दिनमै तीन हजारको बिन्दुलाई पार गर्छ, लगानीकर्ता डराउन आवश्यक छैन”, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट