‘शान्ति दूत’ बन्ने दौडमा मोदी, होला त सम्भव ?-Sutra News

‘शान्ति दूत’ बन्ने दौडमा मोदी, होला त सम्भव ?

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ । भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको यो तेस्रो कार्यकाल हो । अघिल्ला दुई कार्यकालमा शक्तिशाली देखिएका मोदी यो पटक आन्तरिक राजनीतिमा निकै कमजोर देखिए । एकातिर सत्तामा पुग्न नै उनका निम्ति सहज भएन भने अर्कोतिर सत्तालाई टिकाइरहन पनि सहज छैन ।



आन्तरिक राजनीतिमा यति कमजोर बनेका मोदी अन्तर्राष्ट्रिय राजनीतिमा भने बलियो शैलीमा देखिएका छन् । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिएपछि उनी वैदेशिक यात्रामा बढी केन्द्रीत भएका छन् ।

पछिल्लो समय मोदी विश्वका शक्तिशाली देशदेखि छिमेकीहरुसँग सम्बन्ध सुधार गर्ने रणनीतिमा देखिएका छन् । यस क्रममा उनी दक्षिण एसियादेखि युरोपेली देशको भ्रमणमा निस्किएका छन् ।

गत जुलाई ८ मा उनी युद्धमा होमिएको मुलुक रसिया पुगे । रसिया पुगेर राष्ट्रपति भ्लामिमिर पुटिनसँग अंकमाल गरेका मोदीले दुई देशको व्यापारदेखि राजनीतिक विषयमा गहन छलफल गरे ।

युक्रेन युद्ध सुरु हुँदै गर्दा एक्लिएका पुटिनलाई मोदीले सान्तवा मात्रै दिएका थिएनन्, पुटिनबाट सस्तोमा कच्चा पेट्रोलियम पदार्थ ल्याएर आफ्नो भलो पनि गरेका थिए । अहिले पुटिनसँग उनले थप उचाईबाट छलफल प्रारम्भ गरेका छन् ।

यसपटकको भ्रमणमा ठोसरुपमा युद्ध अन्त्य गर्ने विषयमा दुई नेताबीच वार्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उसो त भ्रमणपछि मोदीले पनि सोतर्फ स्पष्ट संकेत गरेका थिए ।

मोदीले रुसी राष्ट्रपति पुटिनसँग भेट गरिरहँदा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की भने विरोधमा देखिएका थिए । जेलेन्स्कीले मोदीको रुस भ्रमणलाई दुई देशको शान्ति प्रयासमा ठूलो धक्का भएको प्रतिक्रिया दिएका थिए ।

“विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको नेताले विश्वकै रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक छ”, मोदी भ्रमणबारे उनले भनेका थिए ।

यद्यपि, विरोधमा उभिएका जेलेन्स्कीलाई मोदी लगत्तै भेट्न पुगे । पुटिनलाई भेटेको डेढ महिनामै जेलेन्स्कीलाई भेट्न गत शुक्रबार मोदी कीभ पुगेका थिए । उनले युद्ध अन्त्यको उपायबारे जेलेन्स्कीसँग गहन संवाद गरेका छन् ।

पुटिनलाई भेटेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गरेका मोदीले जेलेन्स्कीसँग भेटेपछि पनि बाइडेनसँग छलफल गरेका छन् । युद्धरत दुई देशका प्रमुखलाई भेटेपछि बाइडेनसँग कुराकानी गर्दै मोदीले “द्व्रन्द्वको समाधान खोजिनु अनिवार्य छ” भएको बताएका छन् ।

मोदीले आपसमा युद्ध गरिरहेका रुस र युक्रेनको भ्रमण गरिरहँदा विश्वको ध्यान खिचिएको छ । दुवै देशको भ्रमणपछि मोदीले शान्ति कायम गर्न जोड दिएको देखिन्छ ।

यसबारे दुई देशका राष्ट्रपतिले सहमति पनि जनाएको बताइएको छ । जसलाई विश्वले सकारात्मक रुपमा लिएको छ ।

दबाबमा बाइडेन, दौडमा मोदी

आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस निर्वाचनबाट डोनाल्ड ट्रम्प वा कमला ह्यासिरमध्ये एक जना नयाँ राष्ट्रपति बन्ने छन् ।

यसअघि बाइडेनले आफ्नो कार्यकालमा सुरु भएको रुस–युक्रेन युद्धको अन्त्य चाहन्छन् । यस युद्धलाई ट्रम्पले विरोध गर्दै आउँदा कमलाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

यस युद्धको प्रमुख सूत्राधारको रुपमा बाइडेनलाई मानिन्छ । जसले गर्दा उनी आफ्नै कार्यकालमा युद्ध अन्त्य गर्नु पर्ने दबाबमा छन् । युद्धलाई अन्त्य गर्न बाइडेनले मोदीसँग सहयोग खोजेको विश्लेषण मिडिया रिपोर्टहरुमा देखिन्छ ।

मोदीले युद्धरत दुई देशका राष्ट्र प्रमुखसँग भेट गरी आफूले शान्ति चाहेको बताउँदै शान्ति कायम गर्न आग्रह गरेका थिए । यी दुवै देशसँगको भ्रमणपछि उनले बाइडेनलाई जानकारी दिएका थिए ।

यस क्रममा मोदी पनि आफू शान्ति दूत हुने अभियानमा देखिएका छन् । हुन पनि दुई देशबीच युद्ध अन्त्य गर्दै मध्यपूर्वमा देखिएको संकट निवारण गरेमा मोदी विश्वमै शान्ति दूत बन्नेमा दुविधा छैन ।

छिमेकसँग पनि बढाउँदै सम्बन्ध

पछिल्लो दुई कार्यकाल प्रधानमन्त्री हुँदा मोदीले आफ्नो छिमेकी मुलुकसँग सम्बन्ध सुधार गर्न खासै चासो देखाएनन् । अघिल्ला दुई कार्यकाल प्रधानमन्त्री हुँदा उनले चीन, पाकिस्तान, नेपाल, बंगलादेशसँग सीमा विवादलाई सुल्झाउन सकेनन् । यी देशसँग सीमा विवाद हुँदा कयौँले ज्यान गुमाए ।

तेस्रो कार्यकाल प्रधानमन्त्री बनेसँगै विश्वमा शान्तिका दूतका रुपमा स्थापित हुन चाहेका मोदी छिमेकी देशसँग सम्बन्ध सुधार गर्ने पक्षमा देखिएका छन् । उनले नेपालसँग सम्बन्ध सुधार गर्ने संकेत देखाइसकेका छन् भने बंगलादेशको राजनीतिमा हस्तक्षेप नगरेका मोदी नयाँ सरकारसँग सहकार्यकै पक्षमा उभिएका छन् ।

यता, पाकिस्तानले भ्रमणको निम्तो दिएसँगै उनीमाथि परीक्षाको घडी सुरु भएको छ । सधैँ विवादमा रहेको दुई देशबीचको सम्बन्धमा मोदीलाई पाकिस्तानले दिएको निम्तो उनको अन्तिम परीक्षा हुनेछ । एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट