शंखमुलमा पुल हाउसका सञ्चालकको हत्या आरोपमा युवक पक्राउ-Sutra News

शंखमुलमा पुल हाउसका सञ्चालकको हत्या आरोपमा युवक पक्राउ

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ । शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ घर भई हाल काठमाडौँ महानगर १० साइबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका छन् ।

उनलाई बुधबार बिहान सवा १० बजे उनकै कोठाबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

भदौ १० गते बिहान राति करिब १ः५० बजे शंखमुल साइबाबा पार्कस्थित एउटा घरमा सञ्चालन गरिएको पुल हाउसभित्र ४१ वर्षीय रुपक वान्तवाको हत्या भएको थियो । उक्त पुल हाउस वान्तवाले सञ्चालन गर्दै आएका थिए ।

पुल हाउसमा गम्भीर अवस्थामा भेटिएका वान्तवाको उपचारको क्रममा सिभिल अस्पतालमा बिहान साढे २ बजे मृत्यु भएको थियो । उनलाई शरीरका विभिन्न भागमा रड प्रहार गरिएको थियो ।

कुमारको कोठाबाट घटनामा प्रयोग भएको रडसमेत प्रहरीले बरामद गरेको छ । रजौरेका अनुसार वान्तवाको पूर्व रिसिइबीका कारण हत्या भएको खुलेको छ । कुमार साइबाबा पार्कस्थित टहरामा डेरा गरी बस्दै आएका थिए ।

उक्त रिसिइबीबारे सबै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । ‘सानो सानो कुरामा झगडा हुने गरेको र त्यही झगडाले हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ रजौरेले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट