ओलीले ‘टाेकन’ खाेल्दा कांग्रेसमा हलचल-Sutra News

ओलीले ‘टाेकन’ खाेल्दा कांग्रेसमा हलचल

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं । शनिवार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको नयाँ प्रधानमन्त्री महिला हुने घोषणा गरे । उनले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशलगायत महिला बनिसकेको भन्दै आफू अब महिलालाई प्रधानमन्त्री बनाउन लागि परेको बताए ।



“म यस्तो सौभाग्यशाली मान्छे हुँ जसले देशको पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, सभामुख महिला बनायो, पहिलो रक्षा मन्त्री महिला बनायो, अहिले भर्खरै मौका पाउने वित्तिकै पहिलो मुख्यसचिव महिला बनाएँ”, उनले भनेका छन्, “अब म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।”

उनले आफूपछि महिला नै प्रधानमन्त्री बन्ने संकेत पनि गरेका छन् । जुन छिट्टै हुने उनको भनाई छ ।

ओलीको यस्तो अभिव्यक्तिपछि अहिले नेपाली राजनीति केही तरङ्गित बनेको छ । विशेषगरी प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्र ओली अभिव्यक्तिले हलचलको अवस्था निम्त्याएको छ ।

हुन पनि असार १७ मा नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको ७ बुँदे सहमतिका आधारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दुई दलबिच भएको सहमतिमा ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ । ७ बुँदे सहमतिमा समय र पात्रको नामै तोकेर सत्ता हेरफेरको कुरा गरिएको छ ।

यस्तोमा लिखित सहमति पालना भएमा ओलीपछि देउवा नै प्रधानमन्त्री हुनेछन् । यद्यपि, ओलीको पछिल्लो अभिव्यक्तिले कांग्रेसबाट देउवा होइन, देउवाकै चाहनाअनुसार प्रधानमन्त्रीमा महिला अगाडि आउने संकेत गर्दछ ।

ओलीको अभिव्यक्तिलाई हेर्दा, देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा अबको प्रधानमन्त्री हुनसक्ने धेरैको अड्कल छ ।

हुन पनि कांग्रेस र एमालेबिचको गठबन्धन निर्माण र ७ बुँदे सहमति निर्माणमा देउवा र आरजुकै मुख्य भूमिका देखिन्छ । असार १५ गते बालकोटमा भएको ‘दही चिउरे’ वार्तामा पनि कांग्रेसबाट सभापति देउवा र राणा मात्रै सहभागी थिए । जुन छलफलबारे कांग्रेस र एमालेको उच्च तहलाई समेत जानकारी थिएन ।

नयाँ सरकार गठनसँगै पनि देउवाले राणालाई कांग्रेसबाट तेस्रो बरियतासहित महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिलाए । अहिले परराष्ट्र मन्त्रीको हैसियतमा उनको भूमिकालाई लिएर कांग्रेसभित्र र बाहिर निकै चर्चा छ ।

परराष्ट्रमन्त्रीको हैसियतमा राणाले भदौ पहिलो साता भारत भ्रमण गरेकी थिइन् । जुन भ्रमणलाई भारतले निकै महत्व दिएको देखिन्छ ।
भारतका विदेशमन्त्री एस जयशंकरसँगै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ‘वान टु वान’ वार्ता सामान्य तहको छैन । कुटनीतिकरूपमा राणाको यो भ्रमणले निकै महत्व राखेको छ ।

परराष्ट्रमन्त्री राणालाई भारतमा गरिएको स्वागतलाई लिएर राजनीतिक तहमा सरकार फेरबदलको तहमा समेत चर्चा चल्यो । मोदीले समकक्षीको तहमा राणालाई गरेको स्वागतले सरकारको नेतृत्वमा कांग्रेस नै खोजेको देखायो । जसबारे राजनीतिक तहबाट सार्वजनिकरूपमा पनि अभिव्यक्ति आएका छन् ।

यद्यपि, राणाले भने यसलाई नकारेकी छिन् । उनले ओली अभिव्यक्ति आफू लक्षित नभएको भन्दै चर्चाबाट आफूलाई पन्छाउन खोजेकी छिन् ।

“बाहिर मेरोबारे जे–जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु”, पत्रकारहरूको जिज्ञासामा राणाले भनेकी छिन्, “प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।”

यद्यपि, ओली अभिव्यक्तिले कांग्रेसभित्रको राजनीतिमा भने निकै असहजता बनाएको छ । कांग्रेस संस्थापन पक्षकै शीर्ष नेताहरू देउवाको सम्भावित रणनीतिलाई लिएर आतङ्कित देखिँदा इतर पक्षले भने मुखै खोलेर असन्तुष्टि जनाउन थालेको छ ।

अहिले इतर पक्षीय नेताहरू संसदबाट देउवालाई असहयोग गर्ने रणनीतिमा देखिएका छन् भने संस्थापन पक्षकै नेताहरू असन्तुष्टिसहित मौनता साँधिरहेका छन् । विशेषगरी देउवापछि देखिएका उपसभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइरालालगायत अहिले मौन देखिन्छन् । उनीहरूको मौनतामा प्रष्टरूपमा असन्तुष्टि झल्किन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट