काठमाडौँ । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडक खण्डमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुँदा २७ जना घाइते भएका छन् ।
दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो ।
बस अनियन्त्रित भएकोबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । उक्त दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।