काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले सत्तारुढ दल नेकपा एमाले सांसद योगेश भट्टराईमाथि छानबिन गर्न माग गरेको छ । उनले जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिन गर्न माग राखेको हो ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ गर्नेले जनयुद्धलाई हिंसा भनेको बताए ।
उनले भने, ‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’ अर्का सांसद छिरिङलामू लामा तामाङले सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि ? भन्दै प्रश्न गरी छानबिन गर्न माग गरिन् ।
‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो, यस्तो रवैयाले देशलाई अर्को द्वन्द्वमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚ उहाँको विषयमा कन्ट्रोभर्सी छ, उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीय ज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस्, यसमा छानबिन होस्,’ उनले भने ।
एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी युद्धलाई हिंसाको संज्ञा भन्दै बारम्बार बोलेका थिए । उनले हिंसा शब्द प्रयोग गरिरहँदा संसद् बैठक अवरुद्ध हुने अवस्था पुगेको थियो ।