काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरिएको छ।
सिफारिस समितिले यी तीनजनाको नाम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष प्रस्तुत गरेको हो।
अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। जसमा फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेशराज दाहाल (दिनेश डिसी), सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा र फिल्म निर्देशक दीपा पाण्डे बस्नेतको नाम सिफारिस भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाले जानकारी दिए।
अब, मन्त्रिपरिषद्को बैठकले यी मध्ये कुनै एकजनालाई बोर्डको अध्यक्षको रुपमा नियुक्त गर्नेछ। मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बेलुका बस्दैछ। यस बैठकमा बोर्ड अध्यक्षको नियुक्ति सम्बन्धी निर्णय लिइने अपेक्षा गरिएको छ।
यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए।