काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । उनलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्त भएसँगै डीसी दुई वर्षका लागि चलचित्र विकास बोर्डको नेतृत्वमा पुगेका छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल साउन ९ गते सकिएपछि रिक्त बोर्डको अध्यक्ष पदका लागि यस अघि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो ।
सुरुवातमा अध्यक्षका लागि ६ जनाको आवेदन आवेदन दिएका थिए । सिफारिस भएका तीन जनासँगै भिनेत्री करिश्मा मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित स्वीकृत भएका थिए । अभिनेत्री मानन्धरले आवेदन दिए पनि तीन जनाको सर्टलिस्टमा पर्न सकिनन् ।
चलचित्र निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।
सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’ मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेका डीसीले निर्देशन गरेको पछिल्लो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ थियो ।