काठमाडाैं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
हाल मुख्यसचिवमा बहाल लीलादेवी गड्तौलाले ५८ वर्षे उमेरहदका कारण शनिबारदेखि अवकाश पाउन लागेकाले रिक्त स्थानमा अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।
भ्रष्टाचार मुद्दाले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि गड्तौला निमित्त हुँदै मुख्यसचिव बनेकी थिइन् । अहिले उनको कार्यकाल सकिने अन्तिम प्रहरमा सरकारले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ ।
“एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ”, उनले भने, “दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ ।”