काठमाडाैं । लुम्बिनी बौद्ध विश्वविद्यालयले ब्याचलर इन् हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम)का विद्यार्थीले पढ्दै, सीप सिक्दै कमाउने अवसर पाउने भएका छन् । पहिलो सेमेस्टर कक्षा कोठामै सैद्धान्तिक ज्ञान दिने र बाँकी अवधिमा होटल तथा रेसोर्ट रही विद्यार्थी पढाइसँगै व्यवहारिक कक्षा (क्रेडिट आवर) र अतिरिक्त काम गरी कमाउन सक्ने गरी पाठ्यक्रम तयार गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले यसका लागि सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीसँग सहकार्य गरिएको जानकारी दिए । उनले बौद्ध दर्शनसम्बन्धी ज्ञानसँगै होटल व्यवस्थापनसम्बन्धी सीप सिकाउने उद्देश्यले सिद्धार्र्थ बिजनेस ग्रुपअन्तर्गतका होटल रिसोर्ट तथा क्याफेमा व्यवहारिक कक्षा र कमाइको अवसर प्रदान गर्ने गरिने बताए ।
“बौद्ध दर्शनका विविध आयाममा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि सिद्धार्थ बिजिनेस ग्रुपसँग सहकार्य सम्झौता सम्पन्न भइसकेको छ । यसप्रकारको सहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यावसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा छ”, उनले भने ।
अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने आफूहरुको चाहना रहेको उनकाे भनाइ छ ।
प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थीहरु विदेश पलायन भइरहेको अवस्थामा विश्वविद्यालयसँग सहकार्य गरी उनीहरुलाई स्वदेशमै उनीहरुको चाहनाअनुसारको सुविधा उपलब्ध गराउन आफूहरुले सहकार्य गरेको सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बताए ।
“विश्वविद्यालयसँगको यस सहकार्यले विद्यार्थीहरुले पढ्दै, सीप सिक्दै र कमाउँदै गर्न पाउने भएकाले उनीहरुलाई केही हदमा भए पनि स्वदेशमै रोक्न सकिनेमा विश्वस्त छौँ”, उनले भने ।
सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपानेले यस पाठ्यक्रममा विद्यार्थीहरुले पर्यटन व्यवस्थापन पनि पढ्न पाउने बताए । विश्वविद्यालयअन्तर्गत पर्यटन तथा आतिथ्य विषय समितिका अध्यक्ष डा श्रीप्रसाद भट्टराईले विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मुल्याङ्कन हुने गरी कोर्स डिजाइन गरिएको र पहिलो वर्ष ४० जना विद्यार्थीबाट पढाइ सुरुआत गर्न लागिएको बताए ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण समेत गरिदिने र उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको छ ।