काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा रिहा भएका छन् ।
सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९-९ हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनीहरूविरुद्ध प्रहरीले शुक्रबार सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर गरेको छ ।
रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौँले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढाएको छ । उनीहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।
भदौ १० गते टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध उनीहरूले नाराबाजी गरेको आरोप छ । जुन घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक भएका थिए ।