काठमाडौँ । पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरेअनुसार पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी हुन् । नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल, गृष्मकालीन, शीतकालीन, पारा तथा विशेष तथा विश्वकप फुटबलमा काश्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।
साथै, नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई एक करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भएको के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।