काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।
काठमाडौँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि खनिदै बंगलादेश र श्रीलंकाको घटना देखाएर आफूहरूलाई डर नदेखाउन आग्रह गरे । यस्तै उनले प्रचण्ड आफैलाई डर भएको दाबी गरे ।
सम्बोधनमा बोल्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताए । ‘प्रचण्ड जीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनु भएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र ? मैले त डराउनु पर्नै केही छैन,’ उनले भने ।
यस क्रममा उनले श्रीलंका र बंगलादेशमा जे भए नेपालमा त्यही नहुने दाबी गरे । यस क्रममा उनले भने, ‘म भन्न चाहन्छु राम्ररी सिक, बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन, यहाँ आफ्नै इतिहास र परम्परा छ, डेमोक्रेसी हामीले लडेर ल्याएका हौँ ।’
यस्तै, प्रधानमन्त्री ओलीले आफूहरूले बनाएको संविधानले सबैको रक्षा गर्ने दाबी गर्न भ्याए । ‘अहिलेको संविधान हामीले लेखेको हो, म त्यो हैसियत राख्छु, यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो, जो यहाँ भइरहेको प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो अनि उसैका ठूला कुरा,’ उनको दाबी थियो ।
यस कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । उनले अब आफू प्रधानमन्त्रीमा एक वर्ष १० महिना १५ दिन बस्ने बताए ।