एउटा विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्त भएपछि…-Sutra News

एउटा विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्त भएपछि…

शनिबार, १५ भाद्र २०८१

शनिबार, १५ भाद्र २०८१

काठमाडौँ । झापाको कमल गाउँपालिका ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुई जना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।



गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो ।

एउटा विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए । “प्रधानाध्यापक को बन्नुभयो भन्ने विषयमा भन्दा पनि विद्यालयको पठनपाठन बिथोलिनु हुँदैन भन्नेमा हामी कृन्द्रित छौँ,” उनले भने, “बाहिरका नचिनेका व्यक्ति यसलाई बनाउनुपर्यो र उसलाई बनाउनुपर्यो भन्दै विद्यालयको हाताभित्र पसेर होहल्ला मच्चाउँछन् । यसले पठनपाठन प्रभावित भइरहेको छ ।”

विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रम विद्यालयभित्र नगरिदिन सबै पक्षको ध्यानाकर्षण गराएको सञ्जालका अध्यक्ष चौधरीले बताए । उनका अनुसार सञ्जालले ध्यानाकर्षण पत्र व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ ।

हजारौँ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत नियुक्त गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रष्ट व्यवस्था रहेको जानकारी दिए ।

विद्यालयमा नियुक्ति पाएका दुवैजना प्रधानाध्यापकको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन हुन थालेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनु पर्यो भन्दै एउटा समूहले संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट